काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आन्तरिक उत्पादन र आयात दुवै बढेकाले अब विद्युत आपूर्ति सहज हुने जनाएको छ । नदी नालाहरुमा बहाव बढेसँगै नेपाल विद्युत प्राधिकरण तथा निजी क्षेत्रबाट उत्पादन भइरहेको विद्युतको मात्रा बढेको जानकारी दिइएको छ ।
प्राधिकरणले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उत्पादनमा वृद्धि तथा छिमेकी राष्ट्र भारतले आज मे १ देखि इन्डियन मार्केट एक्स्चेञ्ज(आइइ क्स) मार्फत बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म ढल्केबर मुजफरपुर लाइनबाट दिँदै आएको ६०० मेगावाट विद्युत खरिदको समयावधि थप ४ घण्टा बढाइ बिहान २ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरेकाले हाल उद्योगमा भइरहेको विद्युत कटौती कम हुने र बिहान २ बजेदेखि बेलुका ५ बजेसम्म औद्योगिक ग्राहकहरुले माग अनुसारको विद्युत पाउने भएका छन् । ’
प्राधिकरणले थप्दै लेखेको छ, ‘औद्योगिक क्षेत्रमा नियमित र भरपर्दो विद्युत उपलब्धतालाई हालको ब्यवस्थापनले उच्च प्राथमिकतामा राखि कार्य गरिरहेकोले माग अनुसार कम भएको विद्युत आपूर्ति आन्तरिक उत्पादनले उपलब्ध गराउन नसकुन्जेल भारतबाट अधिकतम मूल्यमा समेत आयातको प्रयास गरिएको र यसले औद्योगिक ग्राहकहरुमा देखिएको समस्या पनि समाधान हुनेछ । नेपालको आन्तरिक उत्पादनले मात्र माग अनुसारको विद्युत आपूर्ति गर्न पर्याप्त नभएको अफठ्यारो परिस्थितिमा भारत सरकारबाट ६०० मेगावाट विद्युत आयातको समयावधि थप ४ घण्टा बढाइ गरिएको सहयोगप्रति नेपाल विद्युत प्राधिकरण भारत सरकारलाई धन्यवाद ज्ञापन गर्दछ ।’