काठमाडौं । बनेपास्थित आरन्य नेचर रिसोर्टको व्यवस्थापन दक्षिण एसियाकै चर्चित एटमोसफेर कोरको हस्पिटालीटिले गर्ने भएको छ। लस्ट होराइजन जंगल रिसोर्ट लिमिटेडको साझेदारीमा बन्दै गरेको आरन्य नेचर रिसोर्ट सन् २०२५ को अन्ततिर एटमोसफर कोरको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको हो। काठमाडौंमा यससम्बन्धी एक व्यववस्थापन सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ ।
सम्झौता कार्यक्रममा मस्ट होराइजन जंगल रिसोर्ट लिमिटेडका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले एटमोसफेर कोरसँग साझेदारी गर्नु स्वभाविक भएको बताएका छन् । एटमोसफेरको आतिथ्यताको दृष्टिकोण, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ग्राहक सेवाको लामो अनुभवले ठ्याक्कै हामीले आरन्य रिसोर्ट संचालन गर्ने परिकल्पना गरे अनुसारनै मिलेको कुरा प्रधानले बताए । ‘हाम्रो रिसोर्ट नमोबुद्ध, बनेपामा रहेको थ्रान्गु ताशी याङ्त्से गुम्बा नजिकै रहेकोले एउटा मनमोहक गन्तव्यको रुपमा इतिहास, अध्यात्म र प्राकृतिक सौन्दर्यलाई नजिकैबाट नियाल्न सकिन्छ।’ प्रधानले भने ।

व्यवस्थापन सम्झौता कार्यक्रममा एटमोसफेर कोर ग्रुपका प्रबन्ध निर्देशक सलिल पनिग्राहीले नेपाल दक्षिण एसियाको बिलासी पर्यटकीय गन्तव्यको रुपमा अघि बढिरहेको र ग्राहकहरु जहिल्यै नयाँ नयाँ रोमान्चित गन्तव्यहरुको खोजीमा रहन्छन् भने ।

हाम्रो सोच अनुसार अत्यन्तै राम्रो नयाँ गन्तव्य हाम्रा उच्चस्तरीय ग्राहकहरुलाई पस्कन पाउँदा ज्यादै हर्षित बनाएको कुरा उक्त कार्यक्रममा नेपाल, भारत, श्रीलका र भुटानका एटमोसफेर कोरका प्रबन्ध निर्देशक सौभाग्य महोपत्राले थपे । आरन्य नेचर रिसोर्ट प्रकृति र नेपाललाई नजिकबाट अनुभव गर्न सकिने रिसोर्ट भएको दाबी गरिएको छ ।
समुद्री सतहबाट ५००० फिटको उचाईमा रहेको बनेपा, नेपालको पुरानो शहर हो। २५ एकड जमिनमा फैलिने यो रिसोर्टबाट मौसम सफा भएको बेलामा सगरमाथा लगायत अन्य हिमालहरु र मनोरम पहाडहरुको दृश्य अवलोकन गर्न सकिन्छ । यस रिसोर्टमा मनमोहक दृष्य हेर्न मिल्ने ठूला–ठूला झ्यालसहितको ५१ वटा आकर्षक डिजाइनका कटेज र स्वीट्सहरु हुने व्यवस्थापन पक्षले जनाएको छ । आकर्षक स्वीमिङ्ग पुलको सुविधाले हरेक किसिमका आगन्तुकहरुलाई लोभ्याउने र बालबालिकाहरुका लागि छुट्टै किड्स क्लब पनि हुने व्यवस्थापन पक्षले सो अवसरमा जानकारी दिएको छ ।





















