काठमाडौं । २३ दिनदेखि आन्दोलनरत शिक्षकहरुलाई ३ दिनभित्र विद्यालय फर्काउन सर्वाेच्च अदालतले सरकारलाई आदेश दिएको छ । सर्वाेच्च अदालतमा न्यायाधीश नहकुल सुवेदीको एक इजलासले उक्त आदेश दिएको हो ।
आदेशमा ‘आन्दोलनरत शिक्षकहरुका जायज र संविधासम्मत मागहरु तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरुले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएको मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरु विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नु ।’ भनिएको छ ।
अदालतले तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण माध्यमिक शिक्षा परीक्षा बोर्डको परीक्षाफल प्रकाशन समयमा हुने अवस्था सिर्जना गर्न पनि आदेश गरेको छ । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा समयमा नभई विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेकाले अदालतले तोकिएको समयमा परीक्षा हुने वातावरण बनाउन पनि आदेश गरेको छ । तोकिएको मितिको परीक्षा नसार्ने सुनिश्चितता गर्न पनि अदालतले आदेश गरेको छ । अदालतले आदेश कार्यान्वयनको प्रगति शिक्षा मन्त्रालयमार्फत पेस गर्न पनि सरकारलाई आदेश गरेको छ ।
शिक्षक महासंघको अगुवाईमा गत चैत २० गतेदेखि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा रहेका छन् । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने लगायत विभिन्न २४ वटा माग राखेर शिक्षकहरुले काठमाडौंका सडकमा शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् ।
यता सरकारले अनेक प्रयास गर्दा पनि शिक्षकहरुसँग वार्ता हुन सकेको छैन । शिक्षकहरुले उद्यारो सहमति नगर्ने भन्दै आन्दोलन गरिरहेका छन् ।