skip this News Page Tips Ad Road Block

बजेट निर्माण र स्रोत परिचालनलाई पारदर्शी बनाउन मन्त्री दाहालले दिए निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

भैरहवा  । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कार्य सम्पादन, विकास निर्माण र श्रोत परिचालनलाई पारदर्शी र मितव्ययी बनाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मन्त्रालयद्वारा बिहीबार भैरहवामा आयोजित बेरुजू फस्र्यौट सम्बन्धी कार्यशालालाई संवोधनका क्रममा उनले कार्यसम्पादनका क्रममा सकेसम्म बेरुजू नै आउन नदिन र आएको भए फस्र्यौट तर्फ समेत ध्यान दिन निर्देशन दिए ।

नागरिकले हरेक सेवामा सुशासन र पारदर्शीताको अपेक्षा गर्ने र सरकारले समेत आर्थिक अनुशासनलाई प्राथमिकता दिएकाले आफ्ना हरेक कामको उत्तरदायीत्व निर्वाह गर्न समेत आग्रह गरे । कतिपय आयोजनाहरु समयमा पूरा नहुने, अलपत्र हुने तथा रुग्ण भएर बस्ने जस्ता समस्या देखिएको भन्दै त्यसतर्फ पनि हरेक कार्यालय र कर्मचारीले ध्यान दिनुपर्ने उनले बताए ।

नेपाल अहिले निर्माणको चरणमा रहेको भन्दै मन्त्री दाहालले शुरु गरिएका आयोजनाहरु तोकिएकै समयमा पूरा हुने गरी कार्यक्षेत्रमा परिचालित हुन कर्मचारीहरुलाई सुझाव दिए । कर्मचारीहरुको कार्यसम्पादनबाट नै नागरिकले सरकारको महसुस गर्ने भएकाले सरकारको आभाष दिलाउने गरि काम गर्न उनको आग्रह छ । नेपालमा केही भएन, हुँदैन र हुन सकेन भन्ने जस्ता गलत भाष्यहरु निर्माण गर्न खोजिएको भन्दै मन्त्री दाहालले सरकारले गरेका काम, प्रभाव र परिवर्तनहरु नागरिक सम्म पुर्याउन जरुरी रहेको बताए ।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराको संयोजनमा भएको कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले आयोजना अलपत्र पार्ने, समयमा पूरा नगर्ने जस्ता कार्य अब हुन नदिने बताए । सडक आयोजनाहरु निर्माण गर्दा सर्वसाधारणलाई सकेसम्म कम समस्या पर्ने र यातायात अवरुद्ध हुन नदिने गरी गर्न समेत कर्मचारी तथा प्राविधिकहरुलाई निर्देशन दिए ।

कार्यक्रममा सडक विभागका महानिर्देशक रामहरी पोखरेल तथ सडक बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले बेरुजू व्यवस्थापन, सडक तथा पुल निर्माण एवम् मर्मतको अवस्था र आवश्यकता लगायतका बारेमा कर्मचारीलाई प्रशिक्षणमूलक जानकारी दिएका थिए ।

Health Tips Ad Road Block