काठमाडौं । नेपालमा इलेक्ट्रिक मोटरसाइकल रिभोल्ट भित्रिएको छ । नेपालका लागि रिभोल्टको आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपले एक कार्यक्रम गरी भारतीय बजारमा राम्रो चर्चा कमाएको रिभोल्ट ब्राण्डलाई नेपालमा औपचारिकरुपमा सार्वजनिक गरेको हो ।
विभिन्न पाँच मोडलका रिभोल्टका ब्राण्डहरु नेपाली बजारमा उपलब्ध हुने एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले जानकारी दिएका छन् । कम्पनीका अनुसार आरभी १, आरभी १ प्लस, आरभी ब्लेज एक्स, आरभी ४०० बीआरजेड र आरभी ४०० गरी पाँच मोडल रहेका छन् । यी मोटरसाइकल अब नेपाली बजारमा उपलब्ध हुनेछन् । यी मोटरसाइकलको मूल्य क्रमशः २ लाख ९९ हजार, ३ लाख ४९ हाजार, ३ लाख ९९ हजार, ४ लाख १९ हजार र ४ लाख ४९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । उत्कृष्ट ब्याट्री क्षमता रहेको दाबी गरिएको यी मोटरसाइकलले सिंगल चार्जमा १५० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । रिभोल्ट मोटरसाइकललाई फास्ट चार्जरको सहायतामा ८० मिनेटमै शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको भनाइ छ ।
रिभोल्टको अहिलेसम्म बजारमा प्रतिष्पर्धी नै नरहेको एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडको दाबी छ । उनले भने, ‘केही वर्ष अगाडि चिनियाँ मोटरसाईकल आएपनि बजार लिन सकेन । अहिले हेर्दा ईभी क्याटागोरीमा बजारमा कोही पनि छैनन् । स्कुटरमा नेपालमा ३५–३८ ब्राण्ड छ । त्यसमा ८–१० वटाले राम्रो गरिरहेका छन् । तर बाइकमा कोही पनि छैन । रिभोल्टले २०१७ देखि बाइकमा मात्रै काम गरिरहेको छ । भारतमा करिब ९० प्रतिशत बजार हिस्सा यसले कायम गरेको छ । त्यही कारणले नेपालमा रिभोल्ट ल्याउनका लागि धेरै प्रयास गरेर अन्तिममा ल्याउन पाएकोमा खुसी लागेको छ । प्राइस रेन्ज पनि आकर्षक रहेको छ र ग्राहकको रोजाइमा पर्नेछ ’
अहिले बजारमा ईभी गाडीले एकछत्र राज गरेसँगै आउने समयमा बाइकमा पनि ईभीले बजार कब्जा गर्दै जाने र त्यसमा रिभोल्टले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उपाध्यक्ष दुगडले बताए ।

कम्पनीका अनुसार यसमा ठूलो टायर छ । मुख्यत ग्राहकको लागत बचत हुनेछ । उपाध्यक्ष दुगडले भने, ‘अहिले हरेक व्यक्तिको औसतमा प्रतिमहिना न्यूनत्तम ५ देखि दश हजार रुपैयाँको इन्धन र मर्मसम्भार खर्च पेट्रोल मोटरसाइकलको हुन्छ । त्यो ईभी मोटरसाइकलमा पुरै बचत हुनेछ । त्यसरी हेर्दा रिभोल्ट मोटरसाईकल चढ्दा वर्षको एक लाखदेखि १ लाख २० हजारसम्म वार्षिकरुपमा बचत गर्न सकिनेछ । ३ वर्षको वारेन्टी रहेको छ । २ देखि साँढे दुई वर्षमा खर्च बचत भएर बाइक नै आफ्नै हुनेछ । यसले वातावरणलाई पनि संरक्षण गर्न मद्दत गर्नेछ भने पैसा पनि बचत हुने छ । त्यसैले इभी मोटरसाइकलमा मानिसहरुको आकर्षण बढ्दै जानेछ ।’


हाल काठमाडौंमा नक्साल, बालाजुसहितका शोरुमबाट यो मोटरसाइकल उपलब्ध हुने र छिट्टै देशका विभिन्न शहरमा १५ शोरुम थप गरी बिक्री वितरण थाल्ने कम्पनीको भनाइ छ ।






















