काठमाडौं । आइतबारदेखि हुनुपर्ने भएपनि शुक्रबारबाट नै नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त भएको छ । आइतबार रामनवमी पर्वको अवसरमा सार्वजनिक बिदा भएका कारण शुक्रबार नै औपचारिक कार्यक्रम गरेर गभर्नर महाप्रसाद अधिकारीलाई बिदाई गरिसकिएको छ ।
यता सरकारले अहिलेसम्म पनि गभर्नर नियुक्त गर्न सकेको छैन भने नयाँ जिम्मेवारी कसैलाई तोकिएको औपचारिक जानकारी भएको छैन ।
पुरानो बहालवाला गभर्नरको पद सकिनु एक महिना अगावै सरकारले नयाँ गभर्नर नियुक्त गरेर सार्वजनिक गर्नुपर्ने भएपनि त्यसो हुन पनि सकेको छैन । नेकपा एमाले वा कांग्रेस कसको कोटाबाट नयाँ गभर्नर बन्ने भन्ने अन्योल छ । त्यस्तै नयाँ गभर्नर निुक्तिका लागि विभिन्न चलखेल पनि उत्तिकै चलिरहेको सार्वजनिक वृतमा सार्वजनिक भइरहेका छन् । यसमा सबैभन्दा बढी विचौलियाको चलखेल देखिएको छ। अर्बाैंको बार्गेनिङका विषय पनि बाहिरिरहेका छन् ।
आज सार्वजनिक बिदा परेकाले कार्यबहाक कसैलाई तोकिएको छैन । अब भोलि मात्रै कार्यबहाक तोकिने राष्ट्र बैंक स्रोतले जनाएको छ । यतिबेला सत्तारुढ दुई दलको ध्यान नयाँ गभर्नर कसलाई बनाउने भन्नेमा बढी देखिएको छ ।
अहिले नयाँ गभर्नर नियुक्ति सिफारिसका लागि मन्त्रिपरिषद्ले अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा अर्थविद् विश्व पौडेल र पूर्व गभर्नर विजयनाथ भट्टराई रहेको तीन सदस्यीय समिति गठन गरिएको छ ।
समितिले एक जना डेपुटी गभर्नरको नाम राखेर नयाँ गभर्नर नियुक्तिका लागि सरकारलाई तीन जनाको नाम सिफारिस गर्नेछ । समितिले गरेको सिफारिसका आधारमा सरकारले नयाँ गभर्नर नियुक्ति गर्नेछ ।
चैत २४ गते (आइतबार) देखि गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिने भएपछि सरकारले नयाँ गभर्नर नियुक्ति गर्न लागेको हो ।





















