कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालनमा आएको दुई वर्ष पछि नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको हो । चीनको ल्हासाबाट हिमालयन एयरलाइन्सको जहाजले १०७ जना यात्रुसहित विमानस्थलमा अवतरण गरेको हो ।
यो सुरुवातीसँगै हिमालयन एयरलाइन्स पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो एयरलाइन्स बनेको छ । पहिलोचोटी नियमित अन्तर्राष्ट्रिय उडानमार्फत पोखरा अवतरण गरेका यात्रुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छेन सङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले स्वागत गरेका थिए ।
एयरलायन्सले पोखरा–ल्हासा रुटमा सातामा एक नियमित उडान थालेको हो । यस अघि पोखरा विमानस्थलबाट सिचुवान एयरलायन्सले पहिलो व्यवसायिक चाटर्ड उडान पनि सुरु गरिसकेकाे छ ।
यात्रुहरूलाई स्वागत गर्दै प्रदेश मुख्यमन्त्री पाण्डेले पहिलो नियमित उडान सुरु हुनु आफैँमा महत्वपूर्ण रहेको बताउँदै यसको निरन्तरताका लागि प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सुुन्दर नगर पोखरामा सुरु भएको व्यवसायिक उडानले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको भएपनि अयसघि नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकिरहेको थिएन ।





















