काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका ५ वटा विधेयक प्रमाणिकरण गरेका छन् ।
राष्ट्रपतिले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण गरेका हुन् ।
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयकहरु राष्ट्रपतिले साेमबार प्रमाणिकरण गरेका हुन् ।
यसैबीच सरकारले संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । नेपालको संविधानबमोजिम राष्ट्रपतिले संघीय संसद्को दुवै वा कुनै सदनको अधिवेशन आह्वान र अन्त्य गर्नसक्ने व्यवस्था छ। संसद्को चालु अधिवेशन गत माघ १८ गतेदेखि सुरु भएको थियो।




















