skip this News Page Tips Ad Road Block

नेपालमा ग्रीन हाइड्रोजनमा लगानीसहित यस्ता छन् एनआरएनए १६ औँ युरोपीय क्षेत्रीय सम्मेलनका निष्कर्षहरू

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १६ औँ क्षेत्रीय सम्मेलन मार्च माल्टामा सम्पन्न भएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिको मुख्य आयोजना, युरोप क्षेत्र र एनसीसी माल्टाद्वारा २८ – ३०, २०२५ मा होस्ट गरिएको सम्मेलन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

माल्टाका राष्ट्रपति Myriam Spiteri Debono ले विशेष शुभकामना दिएका थिए ।

सम्मेलनमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीसहित अन्य पदाधिकारीज्यूहरु, राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा पदाधिकारीहरु, नेपाल लगानी बोर्डका प्रतिनिधि, नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिहरु, उद्योगी, व्यवसायीहरु, सञ्चारकर्मी एवं यूरोप क्षेत्र र विश्वभरबाट २५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेका थियो । “नेपालमा लगानीः एकता र समृद्धिका लागि साझेदारी” भन्ने मुख्य नाराका साथ आयोजना भएको सम्मेलनमा विभिन्न फरक–फरक विषयहरुमा छलफल भएको थियो । विशेष गरी सम्मेलनमा लगानी, व्यापार, उद्यमशीलता, सुरक्षित र मर्यादित वैदेशिक रोजगार तथा श्रम आप्रवासन, गैरआवासीय नेपाली नागरिकता एवं गोर्खाज्का मुद्दा, ज्ञान, सीप र प्रविधि, महिला, युवा तथा दोस्रो पुस्ता, च्यारिटी र मानवीय सहायता, पर्यटन, सांस्कृतिक प्रवर्धन, जस्ता विविध विषयमा गहन छलफल भएको थियो। आर्थिक एकीकरणलाई नेपालमा लगानी अवसरको प्रवर्धन, युवा र आप्रवासीहरूको चुनौती र अवसरमा एनआरएनएको महत्वपूर्ण भूमिका र भविष्यमा यसको एकता एवं रणनीतिक दृष्टिकोण, एनसीसीलाई सुदृढ गर्दै अवसरहरूलाई तीव्र बनाउने र चुनौतीहरू पार गर्ने रणनीतिहरू अपनाउनुपर्ने लगायतका विषयमा सम्मेलनले दिशानिर्देश गरेको छ।

सम्मेलनका निष्कर्षहरू यस्ता छन्ः

१. ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै वंशजको नागरिकताको निरन्तरता हुनुपर्ने हाम्रो अपेक्षा र अपरिहार्यता हो । यद्दपी नेपाल सरकारले गैरआवासीय नेपालीका पक्षमा गरेका सम्पूर्ण निर्णय र सहजिकरणको लागि हार्दिक आभार व्यक्त गर्दै संविधानको धारा १४ मा प्रष्ट व्यवस्था भएको सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि यथाशक्य छिटो आवश्यक कानूनी प्रबन्ध मिलाइदिन तथा गैरआवासीय नेपाली समबन्धी ऐन यथाशक्य छिटो संशोधनसहित कार्यान्वयनमा ल्याउन यो सम्मेलन अनुरोध गर्दछ।

२. युरोपमा रहेका युवा र दोस्रो पुस्ताका बालबालिकाको चुनौती र संभावनालाई पहिचान गर्दै उनीहरूको सशक्तिकरणका लागि भाषा, संस्कृति र सामुहिकतालाई नेपालसँग जोड्न विभिन्न कार्यक्रमहरू सञ्चालन तथा कम्तिमा एउटा नेपाली भाषा स्कुल सञ्चालनका लागि पहल गर्न यो सम्मेलन एनसीसीलाई आग्रह गर्दछ।

३. सर्वोच्च अदालतका फैसलालाई सम्मान गर्दै आगामी मिति २०८२–०६–२५ देखि २८ (तदनुसार सन् २०२५ अक्टोबर ११ देखि १४) मा हुने गरी तय भएको संघको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन गर्ने र त्यसबाट आएको नेतृत्वलाई हस्तान्तरण गर्ने निर्णय गर्दै उक्त महाधिवेशनलाई सफल बनाउन सहयोग र सहकार्य गर्न सम्पूर्ण एनसीसीहरूमा हार्दिक अपील गर्दै त्यसअघि उक्त महाधिवेशनको तयारीका लागि यस संघले तयार गरेको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआइएस) प्रणाली मार्फत सदस्यता खुल्ला भइसकेका एनसीसीमा तीव्र गतिमा अघि बढाउन र खुल्ला नभएका एनसीसीहरूमा तत्काल सुरु गर्न पुनः अनुरोध गर्दछौं। गैरआवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधन सहित) अनुसार सन् २०२५ साल जुलाई महिनामा एनसीसीको राष्ट्रिय महाधिवेशन सम्पन्न गरि सक्न यसै सम्मेलनमार्फत आग्रह गर्दछौं।

४. युवा तथा महिलाहरुको सामाजिक उद्यमशीलता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाहरुको सक्रियतामा सुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाहरुको सहभागिता सुनिश्चित गराउन यो सम्मेलन पुनः प्रतिबद्धता व्यक्त गर्दै संघको मेघा प्रोजेक्टहरुलाई सफलतापूर्वक अघि बढाउने प्रतिबद्धता जनाउँदछ। १ हजार नेपाली महिला भएका देशहरुमा एउटा महिला सेल्टर स्थापनाका लागि एनसीसीहरु मार्फत पहल गरिनेछ। नेपालमा हुने १० औ राष्ट्रिय खेलकुदमा एनआरएनको तर्फबाट सहभागिता जनाउने र एनसिसी माल्टाको संयोजनमा फुटबलको नेतृत्व युरोपले गर्ने निर्णय भएको छ।

५. विदेशमा रहेका नेपालीहरुको सानादेखि ठूलासम्म लगानी भित्र्याउने उद्देश्यले स्थापित नेपाल सरकार समेतको लगानी रहेको १० अर्बको नेपाल एनआरएन डेभलप्मेन्ट फण्ड सञ्चालनको लागि हालसम्म भएका कानून संशोधनका लागि नेपाल सरकारप्रति आभार व्यक्त गर्दछौँ। यसका साथै धितोपत्र बोर्डले ल्याएको धितोपत्र निष्काशन तथा वितरण सम्बन्धि निर्देशिकामा संशोधन गरी सहज वातावरण निर्माण गर्न पनि यो सम्मेलन अनुरोध गर्दछ।

६. नेपालका हवाइ कम्पनीहरुलाई युरोपेली संघ (इयू) को कालोसूचीबाट हटाउन पहल गरी नेपालबाट हुने हवाई सेवा यूरोपसम्म विस्तार गर्ने वातावरण बनाउन र युरोपबाट नेपालसँग सिधा हवाई उडान जोड्न नेपाल सरकारलाई आग्रह गर्दछ।

७. नेपाली दूतावास नभएका मुलुकहरु माल्टा, रोमानिया, क्रोएसिया, पोल्याण्ड, साइप्रस लगायतका देशहरुमा नेपाली राजदूताबास स्थापना गर्न यो सम्मेलन नेपाल सरकार समक्ष पुनः आह्वान गर्दछ। साथै युरोप क्षेत्रभित्र पर्ने आपतकालिन अबस्थालाई सम्बोधन गर्न क्षेत्रगतरुपमा फाउण्डेशन मार्फत एक अक्षय कोष
स्थापना गर्ने निर्णय गर्दछ। १० हजार नेपाली रहेको देशमा दुतावास, वा श्रम सहचारी राख्नका लागि ढिलाई नगर्न सम्मेलनले नेपाल सरकारलाई हार्दिक अपिल गर्दछ।

८. विभिन्न माध्यमबाट गैरकानूनी रुपमा युरोपका पोर्चुगल, इटाली, टर्की, रोमानिया, क्रोयसिया, सर्भिया, लगायतका मुलुकमा भइरहेको अबैध मानव ओसारपसारलाई रोक्न तथा जागरण अभियान सञ्चालन गर्न नेपाल सरकारसॅंग सहकार्य गर्दै संघका विभिन्न देशमा संयुक्त संयन्त्र बनाई अघि बढ्न यो सम्मेलनले राष्ट्रिय समन्वय परिषद्हरु ९एनसीसीहरुलाई० जिम्मेवारी प्रदान गर्दछ।

९. एनआरएनको अभियान सबै मन्त्रालयसँग जोडिन्छ। एनआरएनए ऐनमा समेत व्यवस्था भएको र १० वर्ष अघि गठनको प्रक्रियामा स्मरण गराउँदै हालसम्म गठन हुन नसकेको सल्लाहकार बोर्ड जसमा गैरआवासीय नेपाली संघसहित तालुकदार मन्त्रालय, सरोकारवाला समेत रहेको भनिएको छ। तसर्थ सबै मन्त्रालय र गैरआवासीय नेपालीसहितको सल्लाहाकार बोर्ड गठन गरी आगामी दिनमा नेपाल सरकारले गैरआवासीय नेपालीका सम्बम्धित सम्पूर्ण निर्णय गर्न यो सम्मेलन माग गर्दछ।

१०. युरोप र एशिया प्यासिफिक क्षेत्रमा रहेका नेपाली मुलका विदेशी नागरिक पिएनओको पहिचान (परिचयपत्र) को लागि यथाशक्य चाँडो आवश्यक कानूनी प्रबन्ध र पहल गर्न नेपाल सरकारसँग यो सम्मेलन माग गर्दछ। यस्तै बेलायतमा समान पेन्सन र समान अधिकारका लागि लामो समयदेखि संघर्षरत गोर्खाज्को माग सम्बोधनका लागि मन्त्रीस्तरिय संवादका लागि कुटनीतिक पहलका लागि यो सम्मेलन अपिल गर्दछ।

११. नेपालमा लगानीको लागि हाइड्रो र होटलसँगै अन्य क्षेत्रलाई पहिचान गर्दै सुचना प्रविधि, वन, कृषि, जडिबुटी, अनि वैकल्पिक उर्जाको रुपमा ग्रीन हाइड्रोजनको क्षेत्रमा काम गर्न यो सम्मेलनले सबै गैर आवासीय नेपालीलाई आग्रह गर्दछ। जलवायु परिवर्तनले पारेको असरलाई कम गराउँदै कार्वन उत्सर्जनमा कमी ल्याउनका लागि कार्बन बजारबाट फाइदा लिने गरी त्यस्ता क्षेत्रमा लगानीको पहिचान गर्न र आवश्यक निति बनाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउछौं। स्वास्थ्य क्षेत्रमा विश्वभरी काम गरिहरेका नेपालीको अनुभव, ज्ञान र क्षमतालाई नेपालमा प्रयोग गर्न जरुरी रहेको हाम्रो ठहर छ।

१२. म्यानमारमा गएको भूकम्पका भएको जनधनको क्षतिप्रती दुःख प्रकट गर्दै सम्मेलनका सहभागि र आइसिसीको तर्फबाट नेपाली मुलका भूकम्प पीडितहरुलाई २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ। सो रकम एनसिसी मार्फत हस्तान्तरण गरिनेछ।

१३. चैत १५ गते शुक्रबार नेपालको काठमाडौंंमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएका सञ्चारकर्मीलाई श्रद्धान्जली एवं शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछौं। देशमा शान्ति अमनचयन कायम राख्न हामी सबै पक्षसॅग आग्रह गर्दछौँ।

१४. संघको आगामी १७ औं यूरोप क्षेत्रीय सम्मेलन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् आयरल्याण्डमा आयोजना गर्ने निर्णय गर्दछ।

Health Tips Ad Road Block