Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बढायो कर्मचारीको तलब

Citizenlife ad 2082 falgun to baishak 2083

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने भएको छ ।

विगत चार दिनदेखि आन्दोलतरत दोलखा जिल्लावासी करार कर्मचारीहरूसँग सहमति गर्दै कम्पनीले सबै कर्मचारीको सेवा सुविधामा एकरूपता ल्याउने प्रतिबद्धता जनाएको हो । कम्पनीको प्रतिबद्धताअनुसार अब बाहिर जिल्लाबाट आएका र दोलखा जिल्लावासी करार कर्मचारीको तलब तथा अतिरिक्त सुविधाहरू समान हुने छन् ।

सहमति अनुसार एकरूपता कायम गरिएको सेवा सुविधा गएको फागुन महिनादेखिनै लागू हुने छ । दुई पक्षबीच भएको सहमतिमा लेखिएको छ, ‘आयोजना सञ्चालक समितिको आगामी बस्ने पहिलो बैठकमा मिति २०८१ फागुन महिनादेखि कार्यान्वयन हुनेगरी २०८१ चैत महिनाको तलबमा समावेश गराउन सहमति भयो ।’ यसअघि कम्पनीले जिल्ला बाहिरकालाई ७५ र दोलखाकालाई ५० प्रतिशत सुविधा दिँदै आएको थियो । यो सहमति कार्यान्वयन भएपछि उक्त सेवामा एकरूपता आउने भएको छ । त्यसबाट जिल्लावासी कर्मचारीहरूको तलब समेत बढ्ने निश्चित भएको छ ।

कर्मचारीहरूले गत असोज ६ गते नै आयोजना व्यवस्थापनसँग सहमति गरी गत माघ मसान्तसम्म यस्तो सुविधामा एकरूपता गर्ने सहमति गरेका थिए । तर आयोजनाले सहमति कार्यान्वयनमा ढिलाइ गरेपछि चैत १० गतेदेखि उनीहरू आन्दोलित बनेका थिए । आज भएको वार्ता तथा छलफलमा यसअघिको सहमति समयमै कार्यान्वयन गर्न नसकिएकोमा आयोजनाले माफी मागेको छ ।

सहमति पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद गौतम, आयोजना प्रमुख मनोज ताम्राकार, केन्द्र प्रमुख पूर्णगोपाल रञ्जित, अर्थ महाशाखा प्रमुख सुरेश राज खकुरेल, प्रशासन महाशाखा प्रमुख अनिता बजगाईं र उप–निर्देशक (प्रशासन) मित्रमणि पोखरेलले हस्ताक्षर गरेका छन् । यसैगरी, दोलखा जिल्लावासी करार कर्मचारी संघर्ष समितिको तर्फबाट संयोजक रामबहादुर खड्का तथा सदस्यद्वय नवराज खड्का र सुनतारा तामाङले हस्ताक्षर गरेका छन् । यस्तै तिलक तामाङ, शेषनारायण श्रेष्ठ, विजय पाठक र राजकुमार श्रेष्ठले आमन्त्रित सदस्यका रूपमा सहमतिमा हस्ताक्षर गरेका छन् ।

सहमतिसँगै कर्मचारीहरूले संघर्षका सबै कार्यक्रम फिर्ता लिएका छन् भने आदेखि नियमित काममा फर्किएका छन् ।

यसैबीच माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा हप्ताको चार दिन दैनिक ज्यालादारीमा कार्यरत चार जना कर्मचारीलाई महिनाको ३० दिनसम्म अनिवार्य काममा लगाउने व्यवस्था मिलाउने, हाल जलविद्युत् केन्द्रमा दुई जना प्रशासन सेवाका कर्मचारीहरूलाई प्राविधिक सेवा, इलेक्ट्रिकल समूहमा, एक जना सिभिल समूहको कर्मचारीलाई इलेक्ट्रिकल समूहमा, एक जना सिभिल समूहको प्राविधिक सेवाका कर्मचारीलाई इलेक्ट्रिकल समूहको प्राविधिक सेवामा निजहरूको तालिम, योग्यता अनुसार पद समायोजन गर्ने तथा २०८० माघ १५ गतेदेखि कम्पनीमा करार सेवामा नियुक्त भएका कर्मचारीहरूको करारनामा भएको व्यवस्थाका लागि आवश्यक छलफल गरी कम्पनी व्यवस्थापनले उपयुक्त निर्णय लिने सहमति भएको पनि संघर्ष समितिका संयोजक रामबहादुर खड्काले जानकारी दिए ।

Health Tips Ad Road Block