काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले लुम्बिनी प्रदेश च्याप्टर गठन गरेको छ । राजन कसजुको अध्यक्षतामा परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टर गठन भएको हो ।
परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी प्रदेश च्याप्टरको बोर्डमा राजन कसजुसँगै विकास पाण्डे, अभिषेक पाठक, अर्जुन पाठक, रोनिश श्रेष्ठ, सुरज उप्रेती, विवेक कसौधन, अभिनव थापा रहेका छन् ।
प्रदेश च्याप्टरको भैरहवामा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले शुभारम्भ गरे । सो अवसरमा उपप्रधानमन्त्री पौडेलले उत्पादन र उत्पादकत्व बढाउने काममा नेपाल उद्योग परिसंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले सरकार सम्पूर्ण रुपमा उद्यमीहरुको साथमा रहेको बताउँदै देश हामीले बनाउने हो, हामीले बनाउँछौं भन्ने सन्देश युवाहरुमा पुर्याउन उद्यमीहरुलाई आग्रह गरे ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले युवाहरुलाई उद्यमशील बनाउन नीतिबाटै सहजिकरण, प्रोत्साहन गर्न आवश्यक रहेकोमा जोड दिए ।
उद्योग, वाणिज्य तथाआपूर्ती मन्त्रालयका सचिवकृष्ण बहादुर राउतले कानुन संशोधन, स्टार्टअप नीतिनिर्माणमा परिसंघ र युवा उद्यमी मञ्चले महत्वपूर्ण योगदान गरेको बताए । उनले सरकारले युवाहरुलाई उच्च प्राथमिकतामा राख्दै सोहीअनुरुप नीति बनाउने क्रममा रहेको बताए ।
परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले युवा पलायनता बढिरहेको बेलामा देशभित्रै केही गर्नुपर्छ भनेर यही उद्यमी बन्ने युवाहरुलाई धन्यवाद व्यक्त गरे ।
परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष आशिष अग्रवालले लुम्बिनी प्रदेशको आर्थिक विकाससँगै देशलाई नै समृद्धि बनाउन सक्ने बताउँदै युवाहरुलाई प्रोत्साहनका खाँचो रहेको बताए । उनले मञ्चमार्फत नयाँ अवसरहरू खोज्दै, उद्यमशीलतामा नयाँपन ल्याउँदै र देशको आर्थिक विकासमा योगदान पुर्याउने संकल्पका साथ युवाहरु अघि बढ्न चाहेको बताए । युवाहरुलाई नीतिबाट प्रोत्साहन गर्ने हो भने देशभित्र धेरै अवसर रहेकाले युवा देशमै बसेर केही गर्न सक्ने उनको भनाई थियो ।
परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टरका अध्यक्ष राजन कसजुले स्थानीय मौलिकतामा आधारित रही राष्ट्र निर्माणमा समर्पित भई विश्व दृष्टिकोणका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००५ मा गठन भएको परिसंघको युवा संगठन हो । मञ्चले युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रवद्र्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै सोही अनुरुपका गतिविधि समेत गर्दै आएको छ ।






















