काठमाडौं । देशव्यापी फुटबल प्रशंसकहरूका लागि बहुप्रतीक्षित एनसेल नेपाल सुपरलिग (एनएसएल) सिजन ३ ले फुटबलको रोमाञ्च ल्याउने तयारी गरेको छ, जसमा हिमालय टिभी आधिकारिक प्रसारण साझेदारकोरूपमा रहने भएको छ। एकऔपचारिक कार्यक्रममा हिमालय टिभीले यो घोषणा गरेको हो। नेपालको प्रमुख टेलिभिजन च्यानलहरूमध्ये एक हिमालय टिभीले रोमाञ्चक क्षणहरूसहित सबै लिगका खेलहरूको प्रत्यक्ष प्रसारण गर्नेछ।
नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलले राष्ट्रिय फुटबललाई तीव्र गतिमा उचाईमा पुर्याएको छ। यो साझेदारीले नेपाली फुटबललाई दर्शकहरूको अझै नजिक लैजाने र देशभरका एनएसएल प्रशंसकहरूका लागि यो सुन्दर खेलको मजा अझ रमाइलो बनाउने दाबी गरिएको छ।
साझेदारीको बारेमा जानकारी दिँदै एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीले भने, ‘हामी एनसेल एनएसएल सिजन ३ को लागि आधिकारिक प्रसारण साझेदारकोरूपमा हिमालय टिभीसँग जोडिन पाउँदा खुसी छौं। उहाँहरूको उच्चगुणस्तरको स्क्रिनिङ प्रसारण गर्ने विशेषज्ञता र बलियो प्राविधिक ज्ञानले लिगसँग प्रशंसकहरूलाई जोड्न सजिलो बनाउने छ। यो सहकार्य ठूलो फ्यान बेस सिर्जना गर्न महत्त्वपूर्ण हुनेछ। यसले लिगको भविष्यलाई आकार दिनुका साथै नेपाली फुटबलको लेगेसी पनि सुनिश्चित गर्नेछ।’
आधिकारिक प्रसारककोरूपमा हिमालय टिभीले एनसेल एनएसएल सिजन ३ मा उल्लेखनीय क्षणहरू सिर्जना गर्दै नेपाली फुटबलको ऐतिहासिक विकास र जोशलाई लिपिबद्ध गर्नेछ।
नेपाल सुपर लिग (एनएसएल) को बारेमा
नेपाल सुपर लिग (एनएसएल) नेपालको फ्रान्चाइजमा आधारित पहिलो व्यावसायिक फुटबल लिग हो। यसले देशका उत्कृष्ट प्रतिभाहरूलाई आकर्षित गर्ने प्रयास गर्दछ। एनएसएलले नेपाली फुटबललाई व्यापक रूपमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ जहाँ खेलाडी र टिमहरूसँगै फ्यानहरू पनि मैदानमा उत्रिएर खेल भावनामा रमाउन सक्छन्। लिगले प्रतिस्पर्धात्मकता, सामुहिकताको भावना र समग्रमा नेपाली खेलकुदको विकासलाई बढावा दिन्छ।






















