काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आगामी २०८२ भदौ ३ देखि ८ गतेसम्म १७ औँ संस्करणको ‘नाडा अटो शो २०२५’ आयोजना गर्ने भएको छ ।
काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको लागि २०८१ फाल्गुन २७ गते (आज) देखि चैत ४ गतेसम्म स्टल बुकिङ्गका लागि रजिष्ट्रेशन खुल्ला गरिएकोे छ । प्रदर्शनीमा भाग लिनेसम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइने नाडाले जनाएको छ ।
प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु लगायत वित्तीय संस्था र इन्स्योरेन्सलाई समूहअनुसार छुट्टाइएको हुँदा सोहीअनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको नाडाको भनाइ छ । यस नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीनलगायतका अटोमोवाइल कम्पनीहरुबाट समेत जानकारी माग भइरहेकोले गतवर्षहरुको तुलनामा यस वर्ष छिटै रजिष्ट्रेशन खुल्ला गरिएको नाडाले स्पष्ट पारेको छ ।
नाडा अटो शो समितिका सहसंयोजक अनुपकुमार बरालकाअनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पुर्याउँदै आईरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आमउपभोक्ताहरूलाई यस नाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने आयोजक नाडाले विश्वास लिएको छ ।






















