Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काठमाडौंमा ‘ड्रोन’ बाट आगलागी नियन्त्रणका लागि तालिम र प्रयोगात्मक अभ्यास

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आगलागीका सम्भावित घटनालाई तत्काल नियन्त्रणमा लिन काठमाडौं महानगरपालिकाले प्रविधिको प्रयोगलाई अभ्यास गर्न थालेको छ । राष्ट्रिय सभागृहमा नगर प्रहरी, बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रक, प्रशासन विभाग, विपद् व्यवस्थापन विभाग, प्रशासन विभाग र सूचना प्रविधि विभागका कर्मचारीसहित ४० जनालाई तालिम र अभ्यास गराइएको हो । तालिमको सैद्धान्तिक कक्षामा ड्रोन प्रविधि, यसलाई प्रयोग गर्नुअघि प्रोपेलरको परीक्षण र जडान, ड्रोन दर्ता र नियामक निकाय, सञ्चालन प्रक्रिया, प्रयोग गर्न नहुने र सञ्चार समन्वय गरेर मात्र प्रयोग गर्नु पर्ने अवस्था, आपतकालीन अवस्था व्यवस्थापनमा यसको प्रयोग, आगलागी नियन्त्रणमा प्रयोग हुने ड्रोनमा राखिने फायर इस्टिङ्ग्विसर बल, नियमन व्यवस्थापनसँग सम्बन्धित सरोकारवाला लगायत विषयमा ज्ञान प्रदान गरिएको हो । यस्तै फायर इस्टिङ्विसर बल राखिएको ड्रोनलाई आगलागी भएको ठाउँमा लैजाने र बल खसाल्ने विधिलाई अभ्यास गराइयो ।

यस क्रममा सभागृहको प्राङ्गणमा राखिएको ड्रममा बालिएको आगो ड्रोनबाट फायर इस्टिङ्ग्विसर बल खसालेर निभाइएको थियो ।

घना शहरी बस्तीमा आगलागीलगायत विभिन्न खालका जोखिम बढ्दो क्रममा छ । विपद् व्यवस्थापन विभागका प्रमुख जगदिश अर्यालले बढ्दो चुनौती सामना गर्न प्रविधिको विकास हुनु अवसर भएको र यही अवसरलाई क्षमतामा विकास गर्न लागिएको बताए ।

नयाँ सडक, बालाजु र रामहिटीबाट अग्नि नियन्त्रण सेवा

घना बस्ती भएकाले काठमाडौं आगलागी जस्ता विपद्का कोणबाट जोखिममा छ । आगलागीका समयमा क्षति कम गराउन काम गर्नुपर्ने पक्षसँगै अग्नि दुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प हो । यसका लागि प्रविधिमा आधारित क्षमता विकास थालिएको हो ।

महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने ४ वटा दमकल छन् । एउटा मर्मतकाक्रममा रहेको छ । नयाँ सडकमा एउटा दमकल र एउटा रेस्क्यु ट्रक राखिएको छ । बालाजुमा २ वटा र रामहिटीमा एउटा दकमल छ । जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जिप छ । यसैगरी ८ वटा फायर मोटरसाइकल सञ्चालनमा छन् । दमकलमा पानी थाप्न एउटा पानी ट्याङ्कर छ । डुवानका समयमा पानी तानेर फाल्नका लागि ४ वटा पम्प छन् । केही साधन तथा उपकरण भने मर्मत गरिँदैछ ।

आगलागी हुँदा दमकल जान नसक्ने कतिपय साँघुरा सडक तथा गल्लीमा ड्राइराइजर जडान गरिएको छ । कतिपयमा जडान प्रक्रिया चलिरहेको छ । यो काम केन्द्रबाट विपद् व्यवस्थापन विभाग र वडाबाटै पनि काम भइरहेको हो ।

Health Tips Ad Road Block