Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

जर्मनी पुगेका ६ सय वर्ष पुराना ताडपत्र फिर्ता गर्न पर्यटन मन्त्री पाण्डेको पहल

Citizenlife ad 2082 falgun to baishak 2083

बर्लिन (जर्मनी) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले विदेशमा पुगेका ताडपत्र नेपालमा फिर्ता गर्न पहल थालेका छन् । जर्मनीको बर्लिनस्थित हाइडेलबर्ग विश्वविद्यालयको भ्रमण गर्दै मन्त्री पाण्डेले नेपालबाट २ सय वर्षअघि नै जर्मनी पुगेका ताडपत्र फिर्ताका विषयमा छलफल गरेका हुन् ।

नेपाल अध्ययन र अनुसन्धानमा ख्यातिप्राप्त हाइडेलबर्ग विश्वविद्यालयको दक्षिण एसिया अध्ययन संकायका प्रा.डा. सिमोन चुबेलिचको नेतृत्वमा प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी तथा प्रशासकहरूसँग नेपालसम्बन्धी अध्ययन र अनुसन्धानका विषयमा छलफल भएको जानकारी मन्त्री पाण्डले दिएका छन्।

‘विभिन्न माध्यम हुँदै जर्मनी पुगेका ६००–७०० वर्ष पुराना ताडपत्रमा लेखिएका पाण्डुलिपिहरूको एक संग्रह करिब २ सय वर्षअघि यस विश्वविद्यालयमा आइपुगेको रहेछ,’ मन्त्री पाण्डेले फेसबुकमा लेखेका छन्, ‘ती अत्यन्त महत्त्वपूर्ण सामग्रीहरू नेपालमै फिर्ता गरिनु पर्छ भन्ने विश्वविद्यालयको धारणा रहेको जानकारी पायौँ। ती सामग्रीहरू फिर्ता ल्याउन आवश्यक प्रक्रिया र सम्भावनाका बारेमा गहन छलफल भएको छ।’

ताडपत्रहरूलाई नेपालमा फिर्ता गर्न जर्मनीस्थित नेपाली दूतावासबाट गरिएको पहलकदमी र हाल नेपाल सरकारले ताडपत्र फिर्ता गर्ने पहल थालेपछि विश्वविद्यालय पनि ती ताडपत्र फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ। हाइडेलबर्ग विश्वविद्यालयमा १३८६ मा स्थापना भएको युरोपकै पुरानोमध्येको एक विश्वविद्यालय हो।

मन्त्री पाण्डले जर्मनीमा डा निराजन काफ्ले, डा.माणिक वज्राचार्य, डा.रामहरि तिमल्सिना र डा. राजन खतिवडालगायतसँग ताडपत्र फिर्ता, युरोपेली विश्वविद्यालयमा नेपालसम्बन्धी अध्ययनका विषयमा कुराकानी गरेका थिए । यसका साथै नेपालबाट युरोप पुगेका ऐतिहासिक सामग्रीहरूको खोजी, संरक्षण र फिर्ता गर्ने प्रक्रियाका विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

Health Tips Ad Road Block