Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेकपा एस निकट श्रमिक महासंघले यसपालीको मे डेलाई सिर्जनात्मक र रचनात्मक ढंगले मनाउने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) निकट श्रमिक संगठन एकीकृत ट्रेड यूनियन महासंघ नेपाल(आइसीटियु) ले यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस मे डेलाई रचनात्मक र सिर्जनात्मक हिसाबले मनाउने घोषणा गरेको छ । एकीकृत ट्रेड यूनियन महासंघ नेपाल(आइसीटियु) राष्ट्रिय महिला कमिटीले ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च २०२५ को सन्दर्भमा आयोजना गरेको वनभोज कार्यक्रममा महासंघका अध्यक्ष विष्णु लम्सालले उक्त घोषणा गरेका हुन् ।

अध्यक्ष लम्सालले महासंघ आबद्ध विभिन्न घटकहरुले विभिन्न खानेकुराका परिकार चखाउने गरी यो वर्षको अन्तर्राष्ट्रिय मजदुर दिवस मे डे मनाउने उद्घोष गरेका हुन् । उनले भने, ‘सिर्जनात्मक र रचनात्मक ढंगले ८ मार्च मनाउनुपर्छ भनेर प्रत्येक वर्ष वनभोज कार्यक्रम गरेर महासंघले मनाइरहेको छ । जुलुस, आन्दोलन र नाराबाजी भन्दापनि रचनात्मक हिसाबले दिवसहरु मनाउनुपर्छ भनेर महासंघ त्यही अनुरुप अगाडि बढिरेहेको छ । मार्च ८ जस्तै आउँदो मे दिवस रचनात्मक ढंगले मनाऔँ । आइसीटियुले आफ्ना घटकहरुलाई परिकार चखाउने गरी मनाऊँ । महासंघले त्यो तयारी गरेर घटकहरुलाई सर्कुलर नै जारी गर्नेछ । रचनात्मक र सिर्जनात्मक क्रियाकलापलाई उजागर गर्न सबै लागौँ ।’

श्रमिकहरु पनि रचनात्मक र सिर्जनात्मक हुन्छन् भन्ने प्रमाणित गरेर महासंघले यसलाई स्थापित गर्ने उनले बताए । त्यस्तै अध्यक्ष लम्सालले संविधानमा भएका विषय कार्यान्वयनमा जोड दिनुपर्नेमा जोड दिएका छन् । संविधानले दिएको अधिकार कार्यान्वयन र संविधानमार्फत थप अधिकार लिन श्रमिकहरु आफैं लाग्नुपर्नेमा सबैले आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य गोमा तिमिल्सिना श्रमिकहरुको अधिकार स्थापित गराउन सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।

त्यसैगरी आइसिटीयु राष्ट्रिय महिला कमिटी अध्यक्ष सुनिता थापाले देशमा रोजगारी अभाव भएका कारण घृणित कार्य गर्ने अवस्थामा वैदेशिक रोजगारमा नेपालीहरु जानु परेको अवस्था दुःखद रहेको बताइन् । उनले राज्यका हरेक निकायमा महिला सहभागिता बढाउन राज्यको ध्यानाकर्षण गराउँदै आगामी दिनमा सबै मन्त्रालयमा ज्ञापन बुझाएर श्रमिक अधिकार स्थापित गर्न लागिपर्ने बताइन्। अध्यक्ष थापाले जो कोही श्रमिकलाई पर्ने समस्या समाधान गर्न महासंघ कटिबद्ध रहेको भन्दै आफ्ना समस्या भए लिएर आउन सबै श्रमिकलाई आग्रह गरिन् ।

Health Tips Ad Road Block