काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको यान्त्रिकरण तथा व्यवसायीकरणका विभिन्न कार्यक्रमहरुबाट खाद्यान्न, तरकारी ,फलफूल लगायतका बालीहरुको उत्पादनमा वृद्दि भएको बताएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सदस्य भुवन बहादुर सुनारले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा धानको उत्पादन गत वर्षको भन्दा २ लाख ३१ हजार मेट्रिक टनले बढेर ५९ लाख ५५ हजार मेटिक टन पुगेको जानकारी दिए । ताजा तरकारी र फलफूलको क्षेत्रफल र उत्पादन तथा उत्पादकत्व समेत बढ्दै गएको भन्दै मन्त्री अधिकारीले हाल बाह्रै महिना ताजा तरकारीको उपलब्धता तथा स्याउ ,सुन्तला ,केरा ,र आँप जस्ता प्रमुख फलफूलहरुको बजारमा स्वदेशी उत्पादनको हिस्सा बढदै गएको छ, भने । पछिल्ला समय पशुजन्य उत्पादनमा पनि मुलुक आत्मनिर्भरतातर्फ अघि बढिरहेको उल्लेख गर्दे मन्त्री अधिकारीले आर्थिक वर्ष २०८०/०८१ को तथ्याङ्क अनुसार दुधको उत्पादन २६ लाख १६ हजार मेट्रिक टन , माछा १ लाख १९ हजार मेटिक टन मासु ४ लाख ३१ हजार मेट्रिक टन र अण्डाको उत्पादन १ अर्ब ६० करोड भन्दा बढि रहेको जानकारी गराए ।
मन्त्री अधिकारीले बढदो जनसंख्या र खानेबानीमा देखिएको विविधतासँगै मुलुक भित्रको कृषिउपजको उत्पादनबाट माग परिपूर्ति हुन नसक्दा आयात भएको त्यसमा पनि धान चामल ,गँहु, मकै,आलु,प्याज ,लसुन फलफूलको आयात बढी देखिएको बताए । उत्पादन वृद्धिका लागि मन्त्रालय लागिपरेको जानकारी दिंदै मन्त्री अधिकारीले यसका लागि बालीले ढाकेको क्षेत्रफल विस्तार , सिँचित क्षेत्रको विस्तार ,रासायनिक मल र उन्नत बीउबिजनको सहज उपलब्धता ,उत्पादन लक्षित अनुदानका क्रियाकलाप ,उन्नत जात तथा पशुनश्लको विकास तथा प्रवद्र्धन, बाली विशेष कार्यक्रमहरुलाई प्राथमिकता दिई संचालनमा ल्याइएको जानकारी गराए ।
कृषि उपजको उत्पादन तथा उत्पादकत्व बृद्धिका लागि विशेष कृषि उत्पादन कार्यक्रममार्फत समयमै रासायनिक मलको उपलब्धता सुनिश्चितता गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ ,स्वदेशमै रासायनिक मल कारखाना स्थापनाका लागि ठुलो लगानी आवश्यक पर्ने र हाल सम्म यसका लागि कुनै सरकारले पनि रकम विनियोजन नगरेको भए पनि सम्भावयता अध्यानका कामहरु भने भएको मन्त्री अधिकारीले बताए ।
कृषि उत्पादन र उत्पादकत्व बढाउँदै आत्मनिर्भर बन्ने र यसको निर्यात समेत गर्ने लक्ष्यका साथ मन्त्रालयले गुणस्तरीय स्रोत सामाग्रीमा आम कृषकहरुको पहुँच वृद्धि गर्ने, पहाडी क्षेत्रमा बाँझो तथा खेती योग्य जमिनमा फलफूल खेती विस्तार , कृषि उपजको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण , कृषि उपज विशेष उत्पादन क्षेत्र निर्धारण गरी कार्यक्रम संचालन गरिने मन्त्री अधिकारीले बताए ।






















