काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच फागुन २६ र २७ गते काठमाडौंमा आयोजना हुन लागेको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनबारे गहन छलफल भएको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग भेटवार्ता तथा छलफल गरेको हो । सो अवसरमा फागुन २६ र २७ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको पूर्व तयारीका सन्दर्भमा गहन छलफल भएको नाडाले जनाएको छ ।
उक्त छलफलमा खाशगरी अटोमोवाइल क्षेत्रको तालिमका सम्बन्धमा सहकार्य गर्ने, आवश्यक जनशक्ति निर्माण गर्ने, अटोमोवाइल क्षेत्र बाहिरको सभावनाहरुको पहिचान गर्ने, तालिम केन्द्रहरु स्थापना गर्ने, अन्तर मन्त्रालयहरुबीच सहकार्य गर्ने, सहमतीका लागि आन्तरिक र राष्ट्रियस्तरमा गरी दुई तहमा काम गर्ने जस्ता विभिन्न विषयहरुमा छलफल केन्द्रीत रहेको नाडाको भनाइ छ ।
छलफलमा मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्कर र सहसचिव डण्डुराज घिमिरे, अटोमोटिभ स्किल डेभलपमेण्ट काउन्सिल (एयसडिसी) का कार्य समिति सदस्य रितुन्च गुप्ता र प्रमुख कार्यकारी अधिकृत अरिण्डम लाहिरी लगायतले आफ्नो भनाइ राखेका थिए ।
मन्त्रालयले उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने, आन्तरिक र बैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरुको विश्लेषण गरी आगामी नीतिगत र कानूनी परिमार्जनका लागि सुझाव लिने, श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर—तह/अन्तर निकाय समन्वय र सहकार्य स्थापना गर्ने सो कार्यक्रमको प्रमुख उद्धेश्य राखेर सो सम्मेलन काठमाडौंमा आयोजना गर्न लागेको सन्दर्भमा छलफल भएको हो ।
यसैगरी मन्त्रालयले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालसँग सहकार्य र समन्वय गर्ने एवम् रोजगार सम्मेलनमा नाडाको एउटा स्टल समेत रहने जनाएको छ ।
छलफलमा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्धय कपिल शिवाकोटी, दिपेन्द्रकुमार मिश्रा, नवराज भुसाल, प्रकाशक पुरी, प्रदिपमान प्रधान, अभिक ज्योति, निलमणी पाठक, नविनकुमार पारख, नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा वाडाका अध्यक्ष दिपेन्द्र कोइरालासमेतको उपस्थिति रहेको थियो ।

यसै सिलसिलामा नाडाका अध्यक्ष करण चौधरी नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) बीच लागत साझेदारीमा अटोमोवाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरुलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा एउटा समझदारी पत्रमा हस्ताक्षर गर्ने विषयमा समेत विस्तृतरुपमा छलफल भएको छ । सो कार्यका लागि अटोमोटिभ स्किल डेवलपमेण्ट काउन्सिल (एयसडिसी) ले नाडालाई आवश्यक सहयोग गर्ने जनाइएको छ ।
गत जनवरीको १७ देखि २२ सम्म भारतको नयाँ दिल्लीमा सम्पन्न भारत मोविलिटी २०२५ को सन्दर्भमा नेपालमा दक्ष जनशक्ति तयार गर्न आवश्यक तालिम दिने विषयमा अटोमोटिम कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशन एसिएमए, एयसडिसि र एनएडिएबीच त्रिपक्षिय चार बुँदे सम्झौता समेत सम्पन्न भएको थियो ।






















