Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कुमारी बैंकको अगुवाइमा अर्धजलाशययुक्त मर्स्याङदी नदी जलविद्युत आयोजनाका लागि लगानी जुट्यो, ४ बैंकसँग साढे १० अर्बको सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङदी नदीमा निर्माण हुने ९० मेगावाटको मर्स्याङदी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजनामा ४ बैंकले १०.५० अर्ब रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापनको टुङ्गो लागको छ । कुमारी बैंक लिमिटेडको अगुवाईमा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालको उपस्थितिमा कुमारी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडको संयुक्त लगानीमा हुने गरी ऋण सम्झौता भएको हो ।

हाल ४ वित्तीय संस्थाबीच सम्झौता भए पनि केही समयभित्र अन्य बैंक तथा वित्तीय संस्थाहरुले पनि आयोजनामा लगानी गर्ने बताइएको छ । निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ ।

प्रवर्द्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ कुमारी बैंक लिमिटेडले ४ अर्ब, प्रभु बैंक लिमिटेडले ३ अर्ब, सिद्धार्थ बैंक लिमिटेडले २ अर्ब र कृषि विकास बैंक लिमिटेडले १.५ अर्ब लगानी गर्नेछन् ।

स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । डोल्मा इम्पाक्ट फण्डले पनि स्वपुँजी लगानी गर्न पूर्व आवश्यक ड्यु डिलिजेन्स स्टडी अगाडि बढाएको कम्पनीले जनाएको छ । यही समूहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड सेतीखोला जलविद्युत आयोजना २२ मेगावाट निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग २०८० साल कार्तिक १ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यापारिक उत्पादन शुरु गर्नु पर्ने मिति (आरसीओडी) २०८६ साल बैशाख २२ गते रहेको छ । आयोजना प्राविधिक परामर्शदाता क्लिन इनर्जी कन्सलटेन्स प्रालि रहेको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), विस्तृत इन्जिनियरिङ डिजाइन तथा ठेक्कासम्बन्धी कागजात तयारीको काम अन्तिम चरणमा रहेको छ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) स्वीकृतीका लागि सम्बन्धित निकायमा पेश भएको छ कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादित विद्युत विद्युतगृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०/१३२ केभीमा जोडिने छ ।

Health Tips Ad Road Block