काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो । यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, कम्पनीका कर्मचारीहरु र सामूहिक लगानी कोषहरुका लागि आईपीओ निष्काशन गरेर बाँडफाँड गरिसकेको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो भने कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ। कम्पनीले अब बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।
फागुन १५ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन २५ गतेसम्म बढ्न सक्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडले गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आईपीओका लागि आवेदन दिन सक्नेछन्।






















