ललितपुर । नेशनल ल कलेज, सानेपा हाइट, ललितपुरमा नेशनल ल कलेजमा सामाजिक सञ्जाल विधेयकबारे प्यानल छलफल हुने भएको छ ।
फागुन १० गते शनिबार बिहान साढे १० बजेदेखि सामाजिक सञ्जाल विधेयकबारे प्यानल छलफल आयोजना हुने भएको हो । छलफलको मुख्य उद्देश्य हालै प्रस्तावित सामाजिक सञ्जाल विधेयकका प्रावधानहरू त्यसभित्रका भ्रमक सूचना, डीपफेक र अन्य हानिकारक सामग्री नियन्त्रण गर्ने विषयहरु रहेका छन् । यसै विधेयकको प्रभाव र अभिव्यक्ति स्वतन्त्रतामा पर्ने प्रभावमा गहन बहस गर्नु र छलफलबाट केही निर्णय निकालेर सञ्चार मन्त्रालयलाई सुझाव पत्र बुझाउनु नै यो कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमको आयोजना Language of Liberty Institute (LLI), Students for Liberty (SFL), र Ladies of Liberty Alliance (LOLA) द्वारा गरिएको हो । यी अन्तर्राष्ट्रिय संस्थाहरूले स्वतन्त्रता, उदारवाद र महिला सशक्तिकरण प्रवद्र्धन गर्ने विभिन्न कार्यक्रम, कार्यशाला र संवादमार्फत युवा पुस्तामा उदारवादी सिद्धान्तहरूको जागरण फैलाएका छन् । प्यानल छलफलमा प्रमुख वक्ताका रूपमा सांसद रेखा शर्मा (नेपाल कम्युनिस्ट पार्टी), सांसद मिनेन्द्र प्रसाद रिजाल (पूर्व मन्त्री), कानूनी विज्ञ तथा अनुसन्धानकर्ता अञ्जिला श्रेष्ठ (उज्यालो फाउन्डेसनकी अध्यक्ष) र अधिवक्ता विनोद खत्री मिलन (मेगा कानून कलेजका संकाय सदस्य) सहभागी हुनेछन् । कार्यक्रमको संयोजन श्रिष्टिका न्यौपाने (Langauge of Liberty Institute) द्वारा समन्वय गरिएको छ ।
यस प्यानलले प्रस्तावित विधेयकका विविध प्रावधानहरू जस्तै नक्कली प्रोफाइल प्रतिबन्ध, अश्लील सामग्री र डीपफेक भिडियोको दण्ड, तथा राष्ट्रिय हितविरुद्धको सामग्रीको रोकथाममा कडा कदमबारे चर्चा गर्नेछ । विधेयकका आलोचकहरूले यसले अभिव्यक्ति स्वतन्त्रता र डिजिटल अधिकारमा नकारात्मक प्रभाव पार्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । छलफलमा यी सबै पक्षलाई समेटेर वैकल्पिक समाधानहरू खोज्ने र जनचेतना अभिवृद्धि गर्ने प्रयास गरिनेछ । यस बहसमा कानूनी विशेषज्ञ, विद्यार्थी, पत्रकार र आम नागरिकहरूलाई सक्रिय रूपमा सहभागी भई डिजिटल युगमा स्वतन्त्रता र सुरक्षाबीचको सन्तुलन कायम गर्ने उपायहरूबारे विचार विमर्श गर्न आमन्त्रण गरिएको छ ।






















