रुपन्देही। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत र रहस्यमय ढंगले मृत्यु भएकी प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा अन्तेष्टि गरिएको छ ।
बुधवार राति गृह जिल्ला रुपन्देही, नेपाल ल्याइएकी लम्सालको बिहीबार अन्त्येष्टि गरिएको हो । उनको शव सिद्धार्थनगर नगरपालिका–८ स्थित बैंक कोलोनी घरमा रातभर राखेर बिहान स्वर्गद्वारी घाटमा लगेर अन्त्येष्टि गरिएको हो ।
लम्साललाई उनका हजुरबुवा ७६ वर्षीय देवनाथ लम्सालले दागबत्ती दिएका हुन् ।
प्रकृतिको अन्त्येष्टिमा उपस्थित सयौँ स्थानीय, सुरक्षा अधिकारीहरू, उद्योगी–व्यवसायी, स्थानीय तहका जनप्रतिनिधिहरू भावबिह्वल भएका थिए ।
ओडिसाको राजधानी भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको कलेजमा बी–टेक अध्ययन गरिरहेकी प्रकृति गत आइतबार होस्टेलको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । सोही कलेजमा अध्ययनरत भारतकै विद्यार्थी अडिवक श्री वास्तवले दिने गरेको मानसिक यातनामा कजेल प्रशासन मौन रहनु प्रकृतिको मृत्युको कारण भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।






















