काठमाडौं । भ्रष्टाचार अवधारणा सूचकाँक (करप्सन पर्सेप्सन इन्डेक्स–सिपिआई) मा नेपालको अवस्था खस्किएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
गतवर्ष ३५ अंक रहेको नेपालले यसवर्ष ३४ अंक पायो । ५० अंकभन्दा कम अंक प्राप्त गर्ने मुलुक भ्रष्टाचार व्यप्त मुलुकमा गनिन्छ । त्यसकारण नेपाल अझै बढी भ्रष्टाचारव्यप्त मुलुकतर्फ अगाडि बढेको सूचकाँकले देखाउँछ । सूचकाँकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँदछ ।
गतवर्ष ३५ अंक पाउँदा नेपाल १०८ औँ स्थानमा थियो भने यसपाली ३४ अंकसहित १०७ औँ स्थानमा रहेको छ ।
यो नतिजाले नेपालले भ्रष्टाचारविरुद्ध प्रभावकारीरुपले काम कारवाही अगाडि बढाउनुपर्ने औंल्याइएको छ ।
दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ७२ अंक, भारतले ३८ अंक, माल्दिभ्सले ३८ अंक, श्रीलंकाले ३२ अंक, पाकिस्तानले २७ अंक, बंगलादेशले २३ अंक र अफगानिस्तानले १७ अंक प्राप्त गरेको छ । नेपाललको अर्काे छिमेकी मुलुक चीनले ४३ अंक प्राप्त गरेको छ ।
सूचकाँकअनुसार १८० देशमध्ये दक्षिणी सुडान सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक र डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रूपमा रहेका छन् ।