काठमाडौं । नेपाली श्रमिकका लागि १४९ वटा देशमा खुला गरिएको भएपनि १० देशसँग श्रम सम्झौता भएको छ । नेपालको श्रम गन्तव्य देश क्रमशः कतार र मलेसिया(परिमार्जनसहित पुनः सम्झौताको तयारी) , संयुक्त अरब इमिरेट्स (युएई), दक्षिण कोरिया, बहराइन, जापान, इजरायल, जोर्डन, मोरिसस, बेलायत, जर्मनी र रोमानियासँग सम्झौता भइसकेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चार देशसँग श्रम सम्झौताको मस्यौदालाई टुंगो लगाएको जनाएको छ । त्यसैगरी पाँच देशसँगको मस्यौदा आदानप्रदान गरिएको छ । श्रम मन्त्रालयले साउदी अरब, मलेसिया, कतार र ओमानको मस्यौदा टुंगो लागेको तथा ती देशका सरकारलाई मस्यौदा पठाइसकेको जनाएको छ । त्यसमा हस्ताक्षर हुन बाँकी रहेको जनाएको छ।
केही साता अगाडि साउदी अरबको भ्रमणबाट फर्किएपछि श्रममन्त्री शरदसिंह भण्डारीले साउदी अरबसँगको श्रम सम्झौताका लागि नेपाल र साउदीका अधिकारीले बनाएको मस्यौदामा सहमति भएको जानकारी दिएका छन् । उनका अनुसार साउदीमा नेपाली श्रमिकले भोग्नु परेका समस्याको समाधानका लागि पनि छिट्टै श्रम सम्झौता गर्नु पर्छ भनिएको र साउदी सरकार सकारात्मक देखिएको छ । दुवै देशले कानुनी प्रक्रिया पूरा गरेपछि सम्झौतामा हस्ताक्षर गर्ने मिति टुंगो लगाउने मन्त्रालयले जनाएको छ ।
यता माघ अन्तिम साता संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजित आबुधाबी डाइलगको साइड लाइन बैठकमा श्रममन्त्री भण्डारी र साउदी समकक्षीबीचको वार्तामा श्रम सम्झौतालाई एक महिनाभित्रमा टुङ्ग्याउने गरी दुवै पक्षले सिधै समन्वय गर्न ‘फोकल पर्सन’ तोकेको थियो ।
मन्त्रालयले पछिल्लो पटक टर्की, लेबनान, कुवेत, स्पेन, जर्मन, ब्रुनाईबीचको प्रस्तावित श्रम मस्यौदा पनि टुंगोमा पुर्याउन प्रयास गरिरहेको जनाएको छ ।






















