Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

जलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न घनिभुत छलफल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलविद्युतको शेयरमार्फत गरिब तथा विपन्न नागरिकको जीवनस्तर उकास्न आवश्यक पर्ने शेयर लगानीका विषयमा सरोकारवाला निकायसँग छलफल गरेका छन् । मन्त्री खड्काले जनताको जलविद्युत कार्यक्रमको दोस्रो संशोधनमार्फत विना धितो गरिब तथा विपन्न वर्गलाई दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म शेयर दिनेबारे आज अर्थ मन्त्रालय, बैँङ्किङ क्षेत्र र उर्जा उत्पादकसँग छलफल गरेका हुन् ।

छलफलमा उर्जामन्त्री खड्काले दिनभर काम गरेर विहान बेलुका छाक टार्न समस्या भएका नागरिकलाई लक्षित गरी सरकारले विना धितो सहुलियतपूर्ण व्याजदरमा शेयर पाउने व्यवस्था गर्न लागेकाले यसलाई कार्यान्वयन गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

“गरिब तथा विपन्न वर्गलाई समृद्ध बनाउन नसकेसम्म हामीले कल्पना गरेजस्तो समृद्ध नेपाल निर्माण हुन सक्दैन, उक्त वर्गलाई समृद्ध बनाउन दायित्व तपाईँ हामी सबैको हो,”– मन्त्री खड्काले भने । प्राकृतिक स्रोतमाथिको अधिकार सबैको भएकाले तल्लो वर्गको लागि सबैले सोच्नुपर्ने उनको भनाई थियो ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयकी सचिव सरीता दवाडीले जनताको जलविद्युत कार्यक्रमलाई कार्यान्वयन गर्न सबैको भूमिका रहेको बताइन् । उनले यस कार्यक्रमलाई कार्यान्वयन गर्न अवरोध निति, नियमलाई मन्त्रालयले परिमार्जन गर्दै अगाडि बढ्ने उल्लेख गरिन् ।

मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रवल अधिकारीले जलस्रोतमार्फत मुलुकको समृद्धिसँगै समाजवादको विकास गर्न सरकार लागेको बताए । उनले सरकारले उर्जा विकास मार्गचित्रको लक्ष्य लिएकाले यसलाई पुरा गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनालीले जलविद्युतको विकासमार्फत गरिब तथा विपन्न नागरिकको जीवनस्तर उकास्न उर्जा मन्त्रालयले लिएको लक्ष्य राम्रो भएको बताए । गरिबीको रेखामुनी रहेका जनतालाई विकासको बाटो लैजान यस्तो कार्यक्रमले सहयोग पुग्ने उनको भनाई थियो ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले जनताको जलविद्युत कार्यक्रमअन्तर्गत जलविद्युत क्षेत्रमा थुप्रै नागरिकले लगानी गर्ने वातावरण निर्माण भएको बताउँदै उक्त कार्यक्रमलाई कार्यान्वयन गर्न निजी क्षेत्र तयार रहेको बताए ।

राष्ट्रिय वाणिज्य बैँकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) देवेन्द्ररमण खनाल, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) तिलकराज पाण्डेय, कृषि विकास बैंकका निमित्त सिईओ प्रताप सुवेदी, नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालालगायतले गरिब तथा विपन्न वर्गलाई धनी बनाउनेगरी ल्याइएको उक्त कार्यक्रमलाई कार्यविधि बनाएर लागू गर्नुपर्ने बताएका थिए ।

सरकारले ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ भन्ने नाराका साथ जनताको जलविद्युत कार्यक्रम सञ्चालनमा ल्याएको थियो । छलफल कार्यक्रममा मन्त्रालयका सहसचिव सन्दिप देवले जनताको जलविद्युत कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

Health Tips Ad Road Block