काठमाडौं । नेपाल–भारत रेल मार्गका सम्बन्धमा द्धिपक्षीय छलफल भएको छ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग भेट गरी यस विषयमा छलफल गरेका हुन् ।
मन्त्रालयमा भएको भेटमा राजदूत श्रीवास्तवले नेपाल–भारत रेल मार्गका बारेमा कुरा गरेका थिए । यस्तै उनले रेल सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्तिलाई तालिम तथा प्रशिक्षण उपलव्ध गराउन भारत तयार रहेको समेत उल्लेख गरेका छन् ।
त्यस क्रममा मन्त्री दाहालले नेपालको रेलवे तथा विकासका अन्य क्षेत्रमा भारतले पुर्याएको योगदानको प्रशंसा गरे । आगामी दिनमा दुई देशबीचको सम्वन्ध थप प्रगाढ बन्ने समते उनले उल्लेख गरे ।
भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्रालयसँग सरोकार राख्ने विषयमा दुई देशका अधिकारीहरुबीट छिटै बैठक बस्ने विश्वास व्यक्त गरे ।
सो भेटमा रेल विभागका महानिर्देशक अजयकुमार मुल, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका प्रमुख सुशीलबाबु ढकाल, अन्य सहसचिवहरु लगायतका अधिकारीहरु सहभागी रहेका थिए ।





















