काठमाडौँ । विदेशमा कमाएको रकम आइएमई गरी पठाएका तिन जना भाग्यशाली विजेताहरू रुमानियाबाट ज्ञानेन्द्र प्रसाद गजुरेल, कुवेतबाट राजु लउपा मगर र मलेसियाबाट थानेश्वर थापा मगरले आइफोन सिक्सटिन प्राप्त गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा आइएमईको ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले लक्की ड्र मार्फत आइएमईका तिन जना भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी हुन् ।
यो चाडपर्व ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजनाको पहिलो चरणको मासिक उपहारअन्तर्गतको असोज, कार्तिक र मंसिर महिनाको आइफोन सिक्सटिनको विजेता छनौट भएको हो । आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम(रेमिटेन्स मार्फत रकम पठाउन र रेमिट मार्फत प्राप्त रकम उद्यमशीलता लगाउन प्रोत्साहन गर्ने उद्देश्यले यो चाडपर्व ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना गत असोज २०८१ मा सार्वजनिक गरेको थियो । यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरू मध्ये थप ३ जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिक अप ट्रक जित्न सक्नेछन् ।
दोस्रो चरणको योजना अन्तर्गत ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना यही पुस २०८१ देखि साउन २०८२ सम्म रहनेछ जसमा तिनजना भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक जित्न सक्ने कम्पनीले जनाएको छ । आइएमई गरी आइएमई पेवालेट, बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन सक्नेछन् । आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरककोरूपमा यो अफर ल्याएको जनाएको छ ।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन र सो रकम उद्यममा लगानी गर्न यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए । साथै यो योजनाले डिजिटल माध्यम आइएमई पेमार्फत रकम प्राप्त गर्न सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन्।






















