काभ्रे । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको आयोजना र काभ्रे होटल तथा रेष्टूरेण्ट व्यवसायी संघको सह आयोजनामा धुलिखेलमा दुई दिने संघको रणनैतिक योजना तर्जुमा कार्यशाला गोष्ठी एवं तालिम कार्यक्रम भएको छ ।
काभ्रेको धुलिखेलस्थित धुलिखेल भिलेज रिसोर्टमा आयोजित कार्यशाला गोष्ठीको प्रदेश संघका अध्यक्ष दामोदर नेपाल र निवर्तमान अध्यक्ष सन्तोष उप्रेतीले संयुक्त रुपमा उद्घाटन गरेर शुरु भएको हो । कार्यशालामा सह आयोजक संघ काभ्रे होटल तथा रेष्टूरेण्ट व्यवसायी संघका अध्यक्ष तथा प्रदेश संघका वरिष्ठ उपाध्यक्ष श्यामकुमार भालु मुनालले स्वागत मन्तव्य राख्दै आवश्यक प्रशिक्षण दिन गोष्ठी गरिएको बताए । दुई दिने कार्यशाला गोष्ठीले होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको आगामी दुई वर्षे कार्य योजना तयारीका लागि बृहत छलफल गरी सैद्धान्तिक, व्यवहारिक एवं उद्देश्यपरक योजना तर्जुमा गर्नेछ । सो योजना दुई वर्षे परिणाममुखी रणनैतिक कार्ययोजनाको मस्यौदा हुने र त्यहाँ नेतृत्व विकाससम्बन्धी तालिम समेत प्रदान गर्ने आयोजकले जनाएको छ ।
कार्यशालामा संघमा आवद्ध १३ वटै जिल्लाका अध्यक्षहरुका साथै प्रदेश संघका सम्पूर्ण पदाधिकारी, सदस्य एवं सल्लाहकारहरु र मातहतका अन्य संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाई सकेका र धेरै अनुभव हासिल गरेका व्यवसायिक प्रशिक्षक एवं मोटिभेटर राजु सरकारले कार्यक्रमको सहजिकरण गर्नुका साथै प्रशिक्षण दिएका छन् ।






















