काठमाडौं । उपभोक्ताहरुलाई स्वच्छ र गुणस्तरीय तरकारी फलफूल उपलव्धताको सुनिश्चितताको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोवाइल प्रयोगशाला भ्यान प्रयोग गरी स्थलगत रुपमा तरकारी फलफूलमा विषादीको अवशेष परीक्षण गर्न कार्यलाई निरन्तररुपमा अगाडि बढाउँदै लगेकाे छ । यसै सिलसिलामा मंगलबार मोवाइल फुड ल्याव भ्यान संचालन गरी बल्खुस्थित कृषि तथा तरकारी बजारमा बिक्री वितरणमा रहेको ताजा तरकारी र फलफूलमा विभागको स्यापिड रेस्पोन्स टिमले स्थलगतरुपमै बीबीपीआर विधिवाट जीवनाशक बिषादी अवशेषको परिक्षण गरेको छ।
विभागले बल्खु कृषि तथा तरकारी बजारको विभिन्न स्टलहरुमा बिक्री वितरणमा रहेको गोलभेँडा, फूलगोभी, फर्सी, रायो साग, च्याउ, मटरकोसा, भन्टा, गाँजर, हरियो सिमी, केरा तथा हरियो र कालो अंगुर लगायत १२ प्रकारका तरकारी फलफूलहरुका २० वटा नमूनाहरुको परिक्षण गरेको छ। उक्त परिक्षणमा न्यूनतम ९ प्रतिशतदेखि अधिकत्तम २६ प्रतिशतसम्म इन्जाईम इन्हिबिशन पाइएको विभागले जनाएको छ।
बीबीपीआर मापदण्ड बमोजिम इन्जाईम इन्हिबिशन ३५ प्रतिशतभन्दा कम भएकालाई खान योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशत इन्जाईम इन्हिबिशन भएकोलाई क्वारेन्टाइन होल्ड गरी पुनः परिक्षण गर्ने र ४५ प्रतिशतभन्दा वढी आएमा अस्विकृत गरी नष्ट गरिने प्रावधान रहेको छ। परीक्षण गरिएका सबै तरकारी फलफूलहरु खान मिल्ने रहेको पाइएको विभागले जनाएको छ।
उक्त तरकारीहरु भक्तपुर, धादिङ, चितवन, सर्लाही, काठमाडौं, ललितपुर, रामेछाप लगायत विभिन्न ७ जिल्लाहरुबाट ल्याइएको थियो भने फर्सी, केरा तथा हरियो र रातो अंगूर भारतवाट आयात गरिएको थियो। स्थलगत परीक्षण कार्यमा व्यवसायीहरु आफैंले स्वतस्फूर्तरुपमा आ–आफ्नो स्टलमा बिक्री वितरणमा रहेका तरकारी तथा फलफूल परिक्षण कार्य गराउन नमूनाहरु सहजरुपमा उपलब्ध गराउन मद्दत गरेको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिएका छन् ।
विभागले काठमाडौं उपत्यकाभित्र रहेका विभिन्न तरकारी तथा फलफूल बजारमा आगामी दिनमा नियमितरुपमा मोवाइल फुड ल्याव भ्यान संचालन गरी जीवनाशक विषादीको अवशेष परीक्षण कार्य गर्ने र गलत पाइएमा आवश्यक कारवाही गर्ने चेतावनी पनि दिएको छ ।






















