काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इजरायलबीच सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीका लागि सहकार्य गर्ने सहमति भएको छ । इजरायलमा शान्ती स्थापना भएसँगै सूचना प्रविधि, कृषि, पर्यटन एवं हस्पिटालिटी लगायतका क्षेत्रमा रोजगारीका लागि सहकार्य गर्ने सहमति भएको हो । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासबीच यसअघि भएका सहकार्यलाई निरन्तरता दिएर नेपालमा थप लगानी विस्तार गर्ने सहमति भएको हो ।
इजरायलको कृषि, सूचना प्रविधि नेपालमा भित्र्याउने बारेमा अध्यक्ष अग्रवालले राजदूत बाससँग आग्रह गरे । अध्यक्ष अग्रवालले भने, ‘इजरायलमा भर्खरै युद्ध विराम भई शान्ति स्थापना भएको छ, ।’ सरकारको पढ्दै कमाउँदै कृषि कार्यक्रम, घरेलु कामदारमा इजरायलमा जाने नेपालीलाई निरन्तरता दिन एवं हस्पिटालिटी निर्माण क्षेत्रमा समेत नेपाली कामदारहरुलाई रोजगारी दिन अध्यक्ष अग्रवालले राजदूत बाससँग आग्रह गरे ।
नेपालको जलविद्युत, पर्यटन, होटल लगायतका क्षेत्रमा इजरायलको लगानीका लागि समेत अध्यक्ष अग्रवालले आग्रह गरे । नेपालमा हालै संशोधन गर्न लागिएका कानूनहरुले लगानीको वातावरण सहज भएकाले नेपाल चेम्बर र इजरायलका व्यवसायीहरुबीच बी टु बी का माध्यमबाट लगानीका अवसरहरु खोज्नुपर्ने अध्यक्ष अग्रवालको भनाई छ ।
चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले इजरायल र नेपालबीच आईटी क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने बताए । उनले अन्य देशको तुलनामा नेपालको सूचना प्रविधिजन्य व्यवसायमा जनशक्ति सस्तो र भौगोलिक दृष्टिकोणले उपयुक्त भएको बताए ।
चेम्बर पदाधिकारीसँगको भेटका क्रममा राजदूत बासले नेपालजस्तो देशमा सहकार्य गर्न पाउँदा आफू निकै खुसी भएको प्रतिक्रिया दिए । इजरायल सरकार नेपालसँग घरेलु कामदार, कृषिसँगै अन्य क्षेत्रको श्रमिक लैजानका लागि पनि सम्झौता गर्न तयार रहेको उनले बताए । इजरायलको न्यूनतम ज्याला नै १६ सय अमेरिकी डलर रहेकाले त्यसको लाभ नेपालले लिनुपर्ने उनको भनाई छ । दुवै देशका लगानीकर्ताबीच भेटघाट र छलफलका लागि सहजिकरण गर्ने राजदूत बासले बताएका छन् ।






















