Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ग्यासको दुईथरी मूल्य कायम गर्ने तयारी, एक महिनाभित्रमा डिलर प्रमाणीकरण कार्यान्वयनमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले ग्यासको डिलर प्रमाणिकरण सुरु भइसकेको र अबको एक महिनाभित्रमा नै यसको कार्यान्वयनमा गइने बताएका छन् । ग्यास बिक्रेता महासंघको ११ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनमा शुभकामना मन्तव्य राख्दै डा.भट्टले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र आयल निगम  यसमा कटिबद्ध रहेको धारणा राखे । उनले अबको केही समयमै घरायसी र व्यवसायिक प्रयोजनका लागि एलपी ग्यासकाे दुईवटा मूल्य निर्धारण हुने बताए ।

उनले भने, ‘ कतिपयलाई यसमा दुविधा छ । यहाँ सिलिन्डरको कलरमा फरक पर्दैन । हामीले बिक्री गर्दा दुईवटा मूल्यमा बिक्री गर्दैनौं । हामीले सबैलाई परल मूल्यमा बिक्री गर्छौं र सुरुमा सबैले खरिद गर्दा परल मूल्यमा नै खरिद गर्नुपर्ने हुन्छ । जति सक्दो चाँडो सरल र सहुलियत दिनुपर्ने भएकाले ती पक्षलाई क्यासब्याक गरिन्छ । यसका लागि वाणिज्य बैंकसँग कुरा भइरहेको छ र उनीहरुले सफ्टवेयर विकास गर्ने काम गरिरहेका छन् ।’

भट्टले विश्वस्त दिलाउँदै भने, ‘उपभोक्ताले ग्याँस खरिद गरिसकेपछि एक हप्ता पछाडि नै क्यासब्याक हुनेछ । त्यसको लागि कार्यविधि बनिसकेको छ ।’ बिक्रेता प्रमाणीकरणको विषय चाँडो सक्ने हो भने दोहोरो मूल्यमा जान सहज हुने र व्यवसाय गर्नेहरु सम्मानित हुने वातावरण बन्ने उनले बताए ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष पाण्डेले अत्यावश्यक वस्तु ग्यासमा लाग्दै आएको भ्याटकाे दर घटाएर न्यून बनाउनुपर्ने, बजारमा रहेका ५९ वटा ग्यास उद्योगहरुलाई मर्जरमा लगेर झार्नुपर्ने, ग्यासको पुरानो फाइल झिकेर दुःख दिने काम सरकारी तवरबाट हुन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

ग्यास बिक्रेता महासंघका अध्यक्ष चन्द्र थापाले बिक्रेता प्रमाणीकरणको सूचना बाहिर आएको तर कार्यान्वयनमा नगएको भन्दै गुनासो गरे । बिक्रेता एवं डिलर प्रमाणिकरणको विषय कार्यान्वयनका लागि सबै जागरुक बन्नुपर्ने भन्दै थापाले बिक्रेता प्रमाणिकरणमा ढिलासुस्ती भएमा दुईथरी मूल्य कार्यान्वयनमा आउन नसक्ने स्पष्ट पारे । दोहोरो मूल्य कायम गर्नका लागि आधार चाहिने तर आधार नै नभइ झन्झटिला कुराहरुलाई लाद्न खोजिए त्यो मान्य नहुने उनले चेतावनी दिए । दीर्घकालीन रूपमा टिक्ने किसिमको नीति ल्याउन उनको आग्रह छ ।

एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष गोकुल भण्डारीले उद्योगीको नाफा बढाउनुपर्ने माग गर्दै डिलर प्रमाणीकरण गर्ने विषय सहज रहेको धारणा राखे । उनले नेपाल आयल निगमको विनियमावली अनुसारको फर्म्याटमा काम गरेमा डिलर प्रमाणीकरण स्वतः भइहाल्ने भनाइ राखे । उद्योगी र विक्रेताको बीचमा दूरी बढिरहेकोप्रति भने उनले दुखेसो गरेका थिए ।

कार्यक्रममा ग्यास बिक्रेता महासंघका संस्थापक अध्यक्ष ज्ञानेश्वर अर्यालले मिसम्याचको ठूलो समस्या आउनेवाला देखिएको भन्दै सबैलाई सचेत गराए । उनले बिक्रेता प्रमाणीकरणको विषय धेरै अगाडि देखि उठेको भएपनि अस्थिर सरकारका कारण यो विषय ओझेलमा परेका भनाइ राखे । डिलर प्रमाणिकरण गफ गरेर मात्रै हुन नसक्ने चेतावनी दिँदै उनले आयल निगम स्पष्ट भएर अगाडि बढ्नुपर्ने बताए । डिलर प्रमाणिकरण नभएसम्म ग्यासको दुईवटा मूल्य कायम गर्ने विषय कार्यान्वयन हुन नसक्ने उनले ठोकुवा गरे ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले ग्याँसको सबै जानकारी र कारोबारका लागि डिलर प्रमाणीकरण आवश्यक रहेको बताए । उनले भने,  ‘ग्यासको चुलो ,गुणस्तरीय पाइप, रेगुलेटर लगायत ग्याससँग सम्बन्धित अन्य कुराहरु प्राप्त गर्नको लागि पनि डिलर प्रमाणीकरण आवश्यक छ ।’ त्यस्तै उनले आयल निगम, उद्योगी, डिलरहरूको साथ लिएर जोखिमयुक्त सहरी संरचनादेखि सबैतिर ग्यासबारे सचेतना दिन लाग्नुपर्ने धारणाा राखे । उनले ग्यासको प्रयोग र सावधानीका विषयमा सबैलाई सचेत गराउन नेपाल आयल निगम, ग्यास उद्योग संघ र डिलरहरूले अभियान नै चलाउनुपर्ने बताए ।

ग्यास बिक्रेता महासंघले स्थापनाको छोटो समयमै आफ्नो सञ्जाललाई देशव्यापी बनाएको र महासंघकाे वार्षिकोत्सवमा देशैभरबाट प्रतिनिधित्व भएको छ । छैठौँ अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

Health Tips Ad Road Block