काठमाडौं । नेपाल पश्मिना उद्योग संघको आयोजनामा बिहीबारदेखि नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो २०८१ सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ १२ गतेसम्म चल्ने पश्मिना एक्स्पोको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे । नेपालमा उत्पादित उत्कृष्ट पश्मिना सामग्रीहरूलाई प्रस्तुत गर्दै यस क्षेत्रको मौलिकता, गुणस्तर र अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुदृढ बनाउने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।
सो क्रममा उद्योगमन्त्री भण्डारीले पश्मिना नेपालको पहिचान भएको बताएका छन् । उनले चीन र मंगोलियाजस्ता देशसँग प्रतिस्पर्धा गरेर नेपाली पश्मिनाले अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएकाले पश्मिना नेपालको पहिचान भएको उनको धारणा थियो । यता प्रदर्शनीले नेपाली उत्पादनका नयाँ सम्भावनाहरू पहिचान गर्न र विदेशी लगानीलाई आकर्षित गर्न सहयोग पुर्याउने बताए । उनले स्वदेशी लगानीलाई प्रोत्साहित गर्न र बाह्य लगानीलाई आकर्षित गर्न सरकार प्रतिबद्ध रहेकाले सोही अनुसारको कानून बनाउन अध्यादेश जारी गरिएको धारणा राखे । नियन्त्रणमुखी कानूनलाई परिमार्जन गर्दै स्वदेशी लगानीलाई प्रवद्र्धनमार्फत मुलुकको आर्थिक विकास गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालले धेरै राम्रा वस्तुको उत्पादन गर्न सकेको भन्दै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्न आवश्यक रहेको बताए । नेपालको पश्मिना धेरै मुलुकमा निर्यात हुने भएकाले यस क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नुपर्नेमा उनले जोड दिए । निर्यात बढाउन अनुदान र प्रोत्साहन आवश्यक रहने उनले बताए ।
सिएनआईका अध्यक्ष राजेश अग्रवालले स्वदेशी उद्योगको प्रवद्र्धनमा एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछाने एक्स्पोलाई आगामी वर्षहरुमा अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गर्ने लक्ष्य लिइएको बताए । साढे तीन अर्बको पश्मिनाको वार्षिक निर्यातको तथ्याँक प्रस्तुत गर्दै उनले सरकारी नीति राम्रो भएमा यसको निर्यात गुणात्मकरुपमा बढाउन सकिने धारणा राखे ।
नेपालमा पहिलो पटक पश्मिना एक्स्पो आयोजना गरिएको हो । पश्मिना एक्स्पोको सँगै मेक इन नेपाल एक्स्पो २०२५ समेत आयोजना गरिएको छ । एक्स्पोमा शुद्ध नेपाली पश्मिना हस्तकला, कृषि र घरेलु उत्पादनको विशेष स्टलहरू रहेका छन् । मेला आयोजना अवधिभर ५० हजार भन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ ।






















