विराटनगर । नेपालमा कुनकुन जात र कस्तो गुणस्तरको कफी उत्पादन भइरहेको छ । स्वदेशी उत्पादनको मूल्य कति पर्छ अनि त्यसको स्वाद कस्तो होला ? यसबारे जानकारी लिन र निःशुल्क कफीको स्वाद चाख्न यसका पारखीले विराट एक्स्पो नै पुग्नु पर्ने देखिएको छ ।
माघ ११ गतेदेखि विराटनगरको डिग्री क्याम्पस परिसरमा सुरु हुने आठौँ सस्करणको विराट एक्स्पोमा मुलुक भरीका कफी उत्पादक तथा व्यवसायीहरु कोशी प्रदेशका कफीका पारखीलाई नेपाली कफीबारे जानकारी दिन र निःशुल्क स्वाद चखाउनैका लागि कुरेर बस्ने भएका छन् ।
उद्योग संगठन मोरङको आयोजनामा सुरु हुने एक्स्पोले नेपाली कफीको स्वाद चखाउन र आन्तरिक बजार प्रवद्र्धन गर्न ओपन लाटे आर्ट एण्ड डुइनिङ कम्पिडिसनका साथै पब्लिक कपिङ पेभिलियनको व्यवस्था गरिएको छ । त्यो पेभिलियनमा मुलुकभरीका कफी व्यवसायीहरुले मेशिन र हातबाट कफीमा आर्ट गर्ने कला प्रर्दशनी गदैै नेपाली कफीको स्वाद निःशुल्क चखाउने अनि यसको खेती र व्यवसायका लागि उपदेश पनि दिनेछन् ।
त्यसको सहजीकरणका लागि विगत सात वर्षदेखि नेपाली कफीको प्रवद्र्धनको काम गर्दै आएका ओयकप कफीका संस्थापक सञ्चालक अभिनायक मल्ल पेभिलियनमा रहने छन् । विदेशी उत्पादनको तुलनामा नेपाली कफीको गुणस्तर र स्वाद अब्बल छ । तर प्रचार प्रसारको अभावमा स्वदेशी बजार विदेशी कफीले ओगटेको छ । मल्लले भने कोशी प्रदेशका कफी पारखीलाई एक्स्पोमा नेपाली कफीको गुणस्तरको जानकारी दिँदै निःशुल्क रुपमा स्वाद पनि चखाइने छ ।
एक्स्पोमा मुलुकभरीका ५० भन्दा बढी कफी उत्पादक तथा व्यवसायी आ–आफनो ठाउँमा उत्पादन र प्रशोधन भएको कफी लिएर आउने छन् । मल्लले भने, ‘उनीहरुले आ–आफनो कफीको गुणस्तर बताउँदै स्वाद पनि निःशुल्क चखाउने छन् ।’ उनले भने नेपाली कफीको अब्बल गुणस्तर र स्वादमा उपलब्ध भएपनि प्रचार प्रसार नहुँदा विदेशी उत्पादनका सामु निरिह हुँदै आएको छ ।
विदेश कफीको तुलनामा नेपाली कफीको गुणस्तर र स्वाद अब्बल छ । नेपाली कफीको प्रचार प्रसार नभएरै विदेशी कफीले स्वदेशी बजार अतिक्रमण गरेको मल्लको दाबी छ । उनले भने नेपाली कफीको उत्पादन लागत बढी लाग्ने भएकाले विदेशी कफीभन्दा केही महँगो परेपनि विदेशी उत्पादनसँग गुणस्तर र स्वादमा प्रतिष्पर्धा हुन सक्दैन ।
एक्स्पोमा नेपाली कफीको बजार प्रवद्र्धनका लागि गुणस्तरबारे जानकारी दिएर निःशुल्करुपमा स्वाद चखाउने मात्र काम गरिँदैन । कफी खेती गर्न र व्यवसाय गर्न इच्छुकलाई फर्मदेखि क्याफेसम्मको जानकारी पनि दिइने मल्लले बताए ।






















