काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताएका छन् । “ग्रामिण पर्यटन प्रवर्द्धनका लागि सिक्लेस महोत्सव”को नारा सहित कास्की जिल्लाको मादी गाउँपालिका १ स्थित सिग्लेस गाउँमा आयोजित माघे सङ्क्रान्ति मेला–२०८१ तथा सिक्लेस युवा क्लबको ३० औं वार्षिकोत्सव समारोहमा उनले आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको धारणा राखे । नेपालमा पर्यटनको अथाह सम्भावना रहेको बताउँदै उनले पर्यटनबाट देशको समग्र अर्थतन्त्र चलायमान बनाउन, रोजगारी सिर्जना गर्दै आर्थिक विकास गर्न सकिने बताए ।
उनले सिक्लेसमा नयाँ केवुलकार निर्माणको चरणमा रहेको र केवलकार निर्माणसँगै त्यस क्षेत्रको पर्यटनमा नयाँ आयाम थपिने समेत बताए । “सिक्लेस एउटा आर्कषक पर्यटकीय गन्व्यका रुपमा देश तथा विदेशमा प्रख्यात नै छ । यद्यपि केवुलबार निर्माणले सिक्लेसमा नयाँ पर्यटकीय पूर्वाधार थपिनेछ । केवलकारको निर्माण यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पुर्याउने मात्र नभई समग्र क्षेत्रको पर्यटन प्रवर्द्धन, आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्ने छ । ” उनले भने ।
सिक्लेसदेखि कोरीसम्म बन्ने नयाँ बन्ने केवुलकारको लागि प्रकृयागत कामहरु सकिईसकेको उनले जानकारी दिए । यस्तै अध्यक्ष ढकालले पर्यटनको लागि स्थानीय कला, संस्कृतिको संरक्षण आवश्यक रहेको बताउँदै कला र संस्कृति संरक्षणका लागि स्थानीय युवा क्लबको भूमिकाको सराहना गर्दै निरन्तरताको लागि शुभकामना व्यक्त गरे ।
गुरुङ जातिको बाहुल्यता रहेको सिक्लेस गाउँ कास्कीको मादी गाउँपालिका–१ मा पर्दछ । पर्यटकीय गाउँ सिक्लेसबाट नजिकै अन्नपूर्ण र लमजुङ हिमश्रृंखला देख्न सकिन्छ । सिक्लेस पोखराबाट करिब ४० किमिको दूरीमा कास्कीको उत्तरपूर्वि भेगमा पर्दछ ।





















