काठमाडौं । नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि निःशुल्क उपलब्ध गराउने सरकारी निर्णय भएको छ । हरेक वर्ष झण्डै आठ सय जनाको ज्यान गइरहेको पक्षघातको उपचार गरी जीवन रक्षा गर्न अमेरिकी सहयोगमा प्राप्त औषधि संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बताए ।
‘उपचार गर्न सकिने भए पनि औषधि दुर्लभ र महँगो हुँदा धेरैको ज्यान जाने गइरहेको पायौं’, पोखरामा आयोजित एक कार्यक्रममा उनले भने, ‘यसलाई रोक्न सरकारले नै औषधि प्राप्त गरेर प्रदान गर्ने व्यवस्था मिलाउन लागेको हो ।’
रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ । थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधिको एक मात्रा सेवन गरेमा धेरैको ज्यान गइरहेको पक्षघातको सफल निदान हुने चिकित्सकले बताउने गरेका छन् ।
जुन औषधिको एउटा मात्राको मूल्य नेपालमा झण्डै एक लाख ३८ हजार पर्छ र सहजै उपलब्ध नहुने भएकाले औषधि नपाएकै कारण धेरैको ज्यान गइरहेकाले मन्त्रालयले यस औषधिको प्राप्ति र सहज उपलब्ध गराउन पहल गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र मन्त्रालयबीच यससम्बन्धी सहयोगका लागि हस्ताक्षर भएको छ । संस्थाले पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए ।
मन्त्रालयले यी औषधि वितरण र उपचारको व्यवस्थाका लागि निर्देशिका बनाउने प्रक्रिया पनि अघि बढाइसकेको छ । पक्षघातको औषधि र उपचार हुने निर्देशिका संघीय र प्रदेश अस्पतालहरुमा लागू हुने छ । यो उपलब्धि नेपालको स्वास्थ्य उपचार सेवामा महत्वपूर्ण भएको न्यूरो चिकित्सक डा. राजु पौडेलले बताए ।





















