skip this News Page Tips Ad Road Block

आइटी उद्योगको विकासमा जुट्यो नेपाल चेम्बर अफ कमर्सः पीपीपी मोडलमा नयाँ कम्पनी खडा गर्ने योजना

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आइटी सफ्टवेयरसम्बन्धी एउटा युनिट खडा गरेर नेपालमा आइटी उद्योगको प्रवद्र्धन गर्नेबारे पहलकदमी सुरु गरेको छ । चेम्बरको आइटी सफ्टवेयर एण्ड टेक्नोलोजी कमिटीले आइटी इन्डष्ट्री मिट अप गरी यस पहलकदमीबारे सार्वजनिक गरेको हो । त्यसअन्तर्गत चेम्बरमा आइटी सेन्टर स्थापना गर्ने सोच र त्यसका लागि आइडिया एवम् लगानी बढाउने उद्देश्य लिइएको छ ।

इन्डष्ट्री मिट अपमा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले पब्लिक प्राइभेट पार्टनरशिपको अवधारणामा कम्पनी खडा गरेर आइटी उद्योगको विकासमा लाग्नुपर्ने प्रस्ताव गरे । नेपालबाट जलविद्युतको निर्यातभन्दा आइटीको निर्यात माथि जानसक्ने भन्दै उनले यो प्रस्ताव गरेका हुन् । मल्लले आइटीको काम गर्न कुनै बोर्डरको अवरोध नरहने भन्दै भने, ‘हामी एउटा भूपरिवेष्ठित देश हौं र समुद्रसँग हाम्रो लिंकेज छैन । यो आइटी उद्योगको लागि न समुद्र चाहिन्छ न हवाई सेवा नै ।’ उनले आइटी क्षेत्रको विकास गर्ने हो भने नेपालले अहिले कमाइरहेको अर्बाैंको कमाइ केही वर्षमै खर्बाैंमा पुग्ने दाबी गरे । उनले भने, ‘हामीले स्वदेशमै बसेर अन्तर्राष्ट्रिय ठूलाठूला सफ्टवेयर कम्पनीको काम गाउँको दूरदराजमा बसेर गर्न सक्छौं । सहरमा भाडा महँगो छ तर यो आइटीको काम आफ्नै गाउँ गाउँमा बसेर गर्न सकिन्छ । यसले गाउँका युवाहरुले अवसर पाउने तथा युवाहरुले सिक्दै पनि जाने र कमाउँदै पनि जाने गर्न सक्नेछन् ।’

करका झन्झट लगायतका कठिनाई हटाउन चेम्बरले पहल गर्ने भन्दै मल्लले सबैको हातेमालोमा आइटीलाई अगाडि बढाउनुपर्ने बताए ।

चेम्बर अध्यक्ष कमलेश अग्रवालले पनि पब्लिक क्षेत्रको एउटा कम्पनी तुरुन्तै ल्याउन कमिटीलाई आग्रह गरे । त्यसमा चेम्बरले आवश्यक सबै सहयोग गर्ने भन्दै अध्यक्ष अग्रवालले भने, ‘आइटी सफ्टवेयर टेक्नोलोजी कमिटीको चेम्बरलाई गहन सुझाव चाहिन्छ । नेपालमा आइटी क्षेत्रमा एक सय एक उत्कृष्ट प्रोफाइलहरू छन् । तर यी प्रोफाइलहरु छायाँमा परिरहेका छन् । चेम्बरको सुझाव छ पब्लिक क्षेत्रमा एउटा राम्रो कम्पनी तुरुन्तै लिएर आउनुहोस् । जसले जोखिम विविधिकरणका साथै चेम्बरका साथीहरुले पनि शेयर लगानी गर्ने अवस्था रहन्छ । त्यसमा चेम्बरले सबै सहयोग गर्दछ ।’

सबै क्षेत्रको डिजिटाइजेशनमा जोड दिँदै अध्यक्ष अग्रवालले भने, ‘अहिले डिजिटाइजेशनसँगै डिजिटल ट्रान्सफर्मेसनमा जानु आवश्यक देखिन्छ । सरकारले आगामी दशकलाई सूचना प्रविधिको दशक भनेर घोषणा गरेको छ । झन्डै ३० खर्ब आम्दानी कमाउने सरकारको योजना छ । यसलाई क्यास गर्न नसक्नु निजी क्षेत्रको कमजोरी हुनेछ । त्यसैले चेम्बर अफ कमर्स यसमा अगाडि बढिसक्यो । चेम्बरले आइटी कमिटीलाई अगाडि बढाउनुको उद्देश्य पनि यही हो ।’

चेम्बरलाई ठूलो टेक्नोलोजीमा अगाडि बढाउने उद्देश्यका साथ अगाडि बढिएको उनको भनाइ थियो । अध्यक्ष अग्रवालले यस कामलाई द्रुत अगाडि बढाउन कमिटीलाई निर्देशन दिएका छन् । एआईले अर्थतन्त्रमा भविष्यमा पार्नसक्ने प्रभावबारे अहिले नै अनुमान गर्न नसकिने भन्दै अग्रवालले जनशक्ति कटौतीमा यसले ठूलो भूमिका खेल्ने बताए । माइक्रोसफ्टले एआईको डाटा सेन्टर बनाउन मात्रै ८० बिलियन डलर लगानी गर्ने प्रतिबद्धता जनाएको बाहिर आएको विषय उजागर गर्दै अध्यक्ष अग्रवालले यति ठूलो विदेशी लगानी आउनुलाई अर्थपूर्णरुपमा हेर्नुपर्ने बताए ।

२००७ सालदेखिको चेम्बरको इतिहासको सम्झना गर्दै उनले चेम्बरलाई सबैले विश्वास गर्ने र लगानीको समस्या नपर्ने दाबी गरे । चेम्बरले आइटीबारेको नीति निर्माण र करका दर कम गर्ने विषयमा आवश्यक पहलकदमी लिने उनले विश्वास दिलाए । चेम्बर अफ कमर्स आइटी टेक्नोलोजीबारे विदेशमा शाखा खोल्नु परेमा पनि आवश्यक सहयोग गर्न तयार रहेको उनको धारणा थियो ।

आइटी इन्डस्ट्री मीट अपमा चेम्बरको आइटी सफ्टवेयर एण्ड टेक्नोलोजी कमिटीका सभापति विज्ञान श्रेष्ठले यस क्षेत्रको विकासमा सबै क्षेत्रको आइडिया र सहकार्य आवश्यक पर्ने बताए । कोही एक व्यक्तिको आवाजभन्दा चेम्बरको संयुक्त आवाजमार्फत आइटी र सफ्टवेयर क्षेत्रको उजागर गर्दै उल्लेख्य काम गर्ने योजना श्रेष्ठले सुनाए । चेम्बरमा आइटी सेन्टर स्थापना गर्ने सोच र त्यसका लागि आइडिया र लगानी बढाउने आवश्यकतामा उनले जोड दिएका छन् ।

Health Tips Ad Road Block