काठमाडौं । नेपाल सरकारले नेपाल बीमा प्राधिकरण अध्यक्षको लागि आवेदन खुल्ला गरेको छ । अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै प्राधिकरण अध्यक्षका लागि आवेदन खुल्ला गरेको जनाएको छ ।
अध्यक्षको लागि बीमा, मौद्रिक, बैङ्किङ्ग, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नाकोत्तर वा व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको, सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको अनुभव भएको, उच्च नैतिक चरित्र भएको, तीस वर्ष उमेर पूरा भई पैसठ्ठी वर्ष उमेर ननाघेको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषध कारोवार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूर नलागेको लगायतका योग्यता तोकिएको छ ।
खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी मन्त्रालयले आवेदन खुलाएको हो। योग्य तथा इच्छुक उम्मेदवारहरुले आवश्यक कागजातसहित अर्थ मन्त्रालयमा १५ दिनभित्र दरखास्त आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

यसअघि प्राधिकरणका अध्यक्ष सूर्य सिलवालमाथि मुद्दा परेपछि हाल सहसचिव मदन दाहालले कामु अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्।





















