skip this News Page Tips Ad Road Block

तपाईँसँग राष्ट्रिय परिचयपत्र छ ? छैन भने माघ १ गतेदेखि बैंक खाता खोल्न नपाइने !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । तपाईँसँग राष्ट्रिय परिचयपत्र छ ? यदि छैन भने तपाईँ विभिन्न स्थानबाट वञ्चित हुनुपर्दछ । यस्तै नयाँ व्यवस्था बैंकमा पनि लागु हुने भएको छ । अब कुनै पनि बैंक वित्तीय संस्थामा खाता खोल्न राष्ट्रिय परिचयपत्र चाहिने भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई बिहीबार एक परिपत्र गरी माघ १ देखि ग्राहकको खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० का सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी व्यवस्थामा संशोधन गर्दै वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त र पूर्वाधार विकास बैंकलाई निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न भनेको हो ।

यसअनुसार बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवार्यरुपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ ।

निर्देशनमा भनिएको छ, ‘ नेपाल सरकारले सामाजिक सुरक्षा लगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नु पर्नेछ । त्यस्तो खाताबाट रकम झिक्नु अघि यस निर्देशन बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्नेछ ।’

यस्तै ग्राहकले उपलब्ध गराएको मोबाइल नम्बरको विवरण निज ग्राहककै रहे नरहेको सुनिश्चित गर्न निहित जोखिमका आधारमा संस्थाले आवश्यक पहिचान पद्धति अवलम्बन गर्नुपर्ने व्यवस्था पनि केन्द्रीय बैंकले गरेको छ ।

Health Tips Ad Road Block