काठमाडौं । एमसिए–नेपालले एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे सबस्टेशन, न्यू दमौली सबस्टेशन र २९७ किलोमिटर प्रसारण लाइन निर्माणको औपचारिक सुरुवात गरेको छ।
नुवाकोट जिल्लाको रातमाटेमा आज आयोजित निर्माणको औपचारिक सुरुवात कार्यक्रममा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र नेपालस्थित अमेरिकी राजदूतावासका कार्यवाहक राजदूत स्कट अर्बम एवं एमसीसी, एमसिए–नेपाल, नेपाल विद्युत् प्राधिकरण, निर्माण व्यवसायी, परामर्शदाता, स्थानीय सरकारका प्रतिनिधिहरू र स्थानीय सरोकारवालाहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको संयुक्त लगानीमा सञ्चालित उक्त आयोजना अन्तर्गत उच्च क्षमताको ४०० केभि सबस्टेशन र ३१५ किलोमिटर प्रसारण लाइनहरू निर्माण हुनेछन्। जसको उद्देश्य नेपालको राष्ट्रिय विद्युत ग्रिडलाई सुदृढ पार्नु, विश्वसनीयता सुधार गर्नु र क्षेत्रीय विद्युत व्यापारलाई सहयोग गर्नु रहेको छ।
निर्माण सम्पन्न भएपछि रातमाटे सबस्टेशन र न्यू दमौली सबस्टेशन नेपालका सबैभन्दा ठूला उच्च–भोल्टेज क्षमताका सबस्टेशनमध्येका हुनेछन्।
यी सबस्टेशन तथा प्रसारण लाइन पूर्वाधारले नेपालको विद्युत् प्रसारण सञ्जाललाई सदृढ बनाउनुका साथै दीर्घकालीन ऊर्जा मागलाई सम्बोधन गर्न र आर्थिक वृद्धिलाई तीव्रता दिन सहयोग गर्ने बताइएको छ ।





















