skip this News Page Tips Ad Road Block

पूर्वका सडकमा मन्त्री–भने विद्युतका पोल नसारिँका कारण सडक निर्माण रोकिए मान्य हुँदैन

Citizenlife ad 2082 falgun to baishak 2083

झापा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक किनाराका विद्युतका पोलका कारण राजमार्ग विस्तारमा ढिलाई मान्य नहुने चेतावनी दिएका छन् । पूर्वपश्चिम राजमार्ग विस्तार आयोजनाको पूर्वी खण्डको निरीक्षण गर्दै उनले सरकारी–सरकारी निकायबीच समन्वय र सहयोगको अभावले निर्माण कार्य रोकिन नहुने बताएका हुन् ।

झापा र मोरङका विभिन्न खण्डमा जारी राजमार्ग विस्तार कार्यको निरीक्षण गर्दै उनले विकास निर्माण कार्यको सवाल कुनै एक मन्त्रालय वा कार्यालयको मात्र नभएकाले सबै निकायहरु बीचमा दर्बिलो समन्वय आवश्यक रहेको बताए । ‘कतिपय ठाउँमा रुख कटानको समस्याले राजमार्ग विस्तार कार्य रोकिन पुगेको थियो तर त्यसलाई एक हदसम्म हामीले समाधान गरेका छौं’ मन्त्री दाहालले भने, ‘वन संरक्षण एवम् विद्युत, खानेपानी तथा सडक विस्तार कुनै एक कार्यालय वा निकायको मात्र विषय होईन हामी सवैको साझा सरोकारका विषय हुन् ।’

विद्युतका पोल तथा तार नसार्दा राजमार्ग विस्तारमा ढिलाई हुन नदिन केन्द्रिकृत ठेक्काको साटो आवश्यक परेका ठाउँमा तुरुन्तै हटाउन र सार्न सकिने प्रबन्धन गर्नुपर्नेमा उनको जोड छ । सडक विभाग एवम् परियोजना निर्देशकहरुलाई उनको निर्देशन छ, ‘पूर्वपश्चिम राजमार्ग विस्तारमा मात्र होईन अन्य सडक निर्माण र विस्तारका क्षेत्रमा पनि विद्युतका पोल नसारिँदा काममा ढिलाई हुनु भएन, तपाईहरु पहल गर्नुस्, आवश्यक परेमा मन्त्रालयले समन्वय गर्ने छ ।’

पूर्वपश्चिम राजमार्ग विस्तार कार्य सरकारको उच्च प्राथमिकताको आयोजना भएको उल्लेख गर्दै उनले यसलाई तिव्र र चुस्त बनाउन सडक विभागलाई निर्देशन समेत दिए । यस राजमार्गले नेपाललाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने भएकाले नेपालको आर्थिक विकासमा समेत महत्वपूर्ण टेवा पु¥याउने मन्त्री दाहालले विश्वास व्यक्त गरेका छन् ।

मन्त्री दाहालले झापाको पाडाजुङ्गी देखि दमक हुँदै मोरङको उर्लाबारी, पथरी, कानेपोखरी तथा विराटचोक क्षेत्रमा भई रहेको सडक विस्तार कार्यको निरीक्षण गरेका हुन् ।

Health Tips Ad Road Block