काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाको अगुवाईमा सोह्रखुट्टे पर्यटक बसपार्कको निरीक्षण गरिएको छ । नाट्टाका अध्यक्ष कुमारमणि थपलियाको संयोजनमा आज बसपार्कको निरीक्षण भएको हो । निरीक्षण कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे सहभागी थिए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र टुरिस्ट बस एसोसिएसन अफ नेपालका सदस्यहरूको उपस्थिति रहेको थियो ।
निरीक्षणको उद्देश्य काठमाडौंको सोह्रखुट्टे पर्यटक बसपार्कको हालको अवस्थाको अवलोकन गर्दै पर्यटकका लागि उपयुक्त र व्यवस्थित बसपार्क स्थापनाको आवश्यकता औंल्याउनु रहेको छ । वर्तमान परिप्रेक्ष्यमा पर्यटकहरुको सहजता आवतजावतका लागि सोह्रखुट्टे क्षेत्र विभिन्न पर्यटकीय गन्तव्यहरु पोखरा, लुम्बिनी र चितवनजस्ता प्रमुख पर्यटकीय गन्तव्यहरूका लागि महत्वपूर्ण केन्द्र रहेको छ । हालसम्म पर्यटकहरूको आगमनमा उल्लेखनीय वृद्धि भए तापनि र पोखरा र चितवन जस्ता शहरमा व्यवस्थित बस टर्मिनलहरूको विकास भए पनि काठमाडौंमा पर्यटकका लागि विशेष रूपमा निर्माण गरिएको बस पार्कको अभाव छ । देशको राजधानी शहर तथा अन्तर्राष्ट्रिय आगन्तुकका लागि मुख्य प्रवेशद्वार मानिने काठमाडौंमा यस्तो अभावले संचालनात्मक चुनौती सिर्जना गरेको छ र पर्यटक अनुभवमा नकारात्मक प्रभाव परेको छ ।
सन् २०१८ को जून महिनामा काठमाडौंको ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि पर्यटक बसपार्कलाई कान्तिपथबाट सोह्रखुट्टे स्थानान्तरण गरिएको थियो । तर, हाल सोह्रखुट्टेको संरचना र सेवा सुविधाहरू पर्यटन क्षेत्रको बढ्दो मागलाई पूरा गर्न अपर्याप्त रहेको छ । नाट्टाका अध्यक्ष थपलियाले सो समस्यालाई सम्बोधन गर्न नाट्टाको प्रतिबद्धता व्यक्त गर्दै भने, ‘हामी पशुपति क्षेत्र विकास कोष लगायत अन्य सरोकारवालासँग सहकार्य गरेर उपयुक्त स्थान पहिचान गरी काठमाडौंमा पर्यटक बसपार्कको स्थापना प्रक्रिया चाँडो अघि बढाउन सक्रिय छौं । हाम्रो लक्ष्य भनेको पर्यटकका लागि सुरक्षित, व्यवस्थित र मर्यादित सेवा प्रदान गर्ने हो ।’
निरीक्षणका क्रममा सरोकारवालाहरूले पशुपति क्षेत्र विकास कोष अन्तर्गत पर्ने तिलगंगा क्षेत्रलाई अस्थायी समाधानको रूपमा उपयोग गर्ने प्रस्ताव गरेका छन् । यस प्रस्तावले पर्यटन सेवालाई सुधार गर्न र नेपालको पर्यटन पूर्वाधारलाई मजबुत बनाउन सरोकारवालाहरूबीच सहकार्यको आवश्यकता औंल्याएको छ ।
मन्त्री पाण्डेले निरीक्षणपछि सो विषयप्रति गहिरो चासो व्यक्त गर्दै भने, ‘पर्यटक बस टर्मिनलको विकासले पर्यटकको यात्रा अनुभवमा सुधार ल्याउनुका साथै हाम्रो पर्यटन क्षेत्रको वृद्धिमा समेत योगदान पु¥याउनेछ । मन्त्रालय यस विषयलाई प्राथमिकतामा राखी नाट्टा र अन्य सरोकारवालासँग सहकार्य गर्दै चाँडै समाधानको पहल गर्नेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय काठमाडौंमा पर्यटकमैत्री वातावरण सिर्जना गर्दै नेपालको पर्यटन पूर्वाधारलाई सबल बनाउन प्रतिबद्ध छ । सोह्रखुट्टेको समस्यालाई समाधान गर्न गरिएको यस निरीक्षणले नेपालमा पर्यटकको सहज यात्रा अनुभव सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम प्रस्तुत गरेको छ ।’





















