काठमाडौं । चालु आर्थिक वर्षमा देशभरको धान उत्पादन बढ्ने भएको छ । गत आर्थिक वर्षको तुलनामा चार दशमलव शुन्य चार प्रतिशतले धानको उत्पादन बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुमान छ । यसवर्ष धानबालीको कुल उत्पादन ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिकटन हुने मन्त्रालयको प्रारम्भिक अनुमान छ ।
धानबाली लगाईएको क्षेत्रफलमा कमि आउँदा पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्वि दखिएको मन्त्रालयले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । वर्षे र चैते दुवै गरी चालु आर्थिक वर्षमा कुल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती लगाईएको अनुमान मन्त्रालयको छ । यो गत आवको तुलनामा १.२८ प्रतिशतले कमि हो । हाल औसत उत्पादकत्व ४.१९ मेट्रिकटन प्रति हेक्टरमा पुगेको मन्त्रालयले जनाएको छ । यो हालसम्मको उच्च विन्दु भएको मन्त्रालयले उल्लेख गरको छ ।
चालु आवमा मनसुन औसतभन्दा तीन दिन अगाडि सक्रिय हुन पुगेको र सो अबधिमा औसत वर्षा गत आवको सरदरभन्दा उच्च रहन जाँदा बर्षे धानबालीको लागि सहयोगी सिद्व हुन पुगेको बताइएको छ । यसै गरी रासायनिक मल र उन्नत जातको धानको आयात गतवर्षको सोही अबधिको तुलनामा वृद्वि हुनु पनि धान उत्पादनका लागि प्रभावकारी रहन गएको मन्त्रालयको भनाइ छ ।
प्रदेशगतरुपमा हेर्दा कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशमा कुल धान उत्पादनमा वृद्वि भएको मन्त्रालयकी सहसचिव एवं प्रवक्ता डा. मतिना जोशी वैद्यले जानकारी दिएकी छन् । बाँकी तीन प्रदेशमा उत्पादन वृद्वि नकरात्मक रहन पुगेको उनले जानकारी दिइन् । विश्लेषण अनुसार रुकुम(पश्चिम) मा धान बाली लगाइएको क्षेत्रफल गतवर्षको तुलनामा कमि रहेकाले समग्र कर्णाली प्रदेशको उत्पादनमा कमि आएको छ । यसै गरी नवलपरासी(पूर्व) केही भागमा बर्षे धानको बाला नलाग्ने समस्या देखा परी उत्पादनमा कमि आउँदा र लमजुङ्ग जिल्लामा धान बाली लगाईएको क्षेत्रफल परिमाण परिमार्जन हुँदा कुल धान बाली भित्र्याइएको क्षेत्रफलमा कमि आई उत्पादनमा कमि हुन गएको देखिएको छ । स्याटेलाईट इमेजको प्रयोगबाट प्राप्त नतिजालाई समेत ध्यानमा राख्दा धान लगाईएको क्षेत्रफलमा र धान भित्र्याईएको क्षेत्रफलमा परिवर्तन हुन पुगेको छ । मधेश प्रदेशमा पनि धान भित्र्याईएको क्षेत्रफलमा कमि आएको विश्लेषणमा भनिएको छ ।
यस्ताे छ विवरण:

























