काठमाडौं । ‘कोरियाका सक्रिय राजनीतिक संगठनहरु र गैरआवासीय नेपाली संघ, एनसीसी, प्रदेश समाजहरु, सम्पूर्ण क्रियाशील संघसंस्थाहरुको ज्ञापन पत्र, अनुरोध र महामन्त्री, पर्यटनमन्त्री पाण्डेको विशेष पहल कदमीसँगै सम्बन्धित निकायहरुको ध्यानाकर्षणका कारण कोरिया आउने हवाइ टिकेट बिक्री टेण्डरमा विचौलिया तन्त्रको अन्त्य हुँदै एकलाख २५ हजारसम्म पुगेको भाडादर अहिले ५४ हजार रुपियाँसम्म कायम भएबाट कोरिया आउने श्रमिकहरुलाई ठूलो राहत भएको छ।’ नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको फेसबुक पेजमा राखिएका शब्द हुन् यी ।
हाल हवाई भाडा आधा घटेकोमा नेपालीहरु हर्षित भएका छन् ।
दक्षिण कोरियामा सक्रिय विभिन्न नेपाली संगठनहरुले नेपाल र दक्षिण कोरियाबीचको हवाई भाडादार घटाउने निर्णयको स्वागत गर्दै पहल कदमीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे लगायतका नेताप्रति आभार व्यक्त गरेका छन् ।
जनसम्पर्क समिति दक्षिण कोरियाले एक विज्ञप्तिमार्फत् विचौलियाहरुका कारण अत्यन्तै चर्को भाडादरको मार भोग्नु परेको अवस्थामा त्यहाँ कार्यरत संघ संस्थाले आवाज उठाउँदै आएको र यसका लागि पर्यटनमन्त्री पाण्डे तथा नेपाली काँग्रेसका महामन्त्री गगन थापालगायतबाट भएको पहलका लागि विशेष धन्यवाद ज्ञापन गरेको छ ।
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा २८ जुलाई २०२४ मा भएको अन्तक्रिया कार्यक्रममा कोरियामा जाने श्रमिकहरू महँगो हवाई भाडादरका कारण एकदमै ठूलो मारमा परेका तथ्यलाई उजागर गर्दै नेपाल वायुसेवालाई नै कोरिया उडान गराएर वा अन्य विकल्प खोजेर हुन्छ जसरी पनि यो समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता अनुसार महामन्त्री गगनकुमार थापाले १३ अगष्टमा प्रतिनिधि सभा बैठकमा आवाज बुलुन्द गर्दै पटकपटक सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएको भन्दै विज्ञप्तिमा स्मरण गरिएको छ।
साथै गत २१ अक्टोबरमा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजिन्द्रबहादुर क्षेत्रीले महामन्त्री थापालाई उनकै निवासमा भेटेर थप तागेता गरेको र कोरियामा कार्यरत संघ संस्थाका प्रतिनिधि मण्डलले गत २२ अक्टोबर मन्त्री पाण्डेसँग मन्त्रालयमा भेट्न जानकारी गराए अनुसार परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, नेपाल वायुसेवा निगम, नागरिक उड्डयन प्राधिकरण लगायत सम्बन्धित सबै निकायसँग समन्वय गरी भएको पहल कदमीबाट भाडादर घट्न सफल भएको जनाइएको छ ।






















