Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सर्वदलीय सहमतीमा संविधान संशोधन प्रक्रियाः महासचिव पोखरेल

Citizenlife ad 2082 falgun to baishak 2083

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पाखरेलले सर्वदलीय सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने बताएका छन् । नेकपा (एमाले) दाङ प्रचार तथा प्रसार विभागले आयोजना गरेको नेपाल पत्रकार महासंघमा निर्वाचित कार्यसमितिलाई सम्मान तथा साक्षात्कार कार्यक्रममा विजयीहरुलाई सम्मान गर्दै महासचिव पोखरेलले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताएका हुन् ।

‘संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने कांग्रेस–एमालेको तयारी सुरु भएको छ,’ महासचिव पोखरेलले भने, ‘संविधान संशोधनको मुद्दा झिकेर अस्थिरता पैदा गर्ने खेल हुन सक्छ । परिस्थिति परिपक्व नहुँदासम्म संविधान संशोधनको काम अघि बढ्न सक्दैन ।’

तीन तहका सरकारको कामलाई प्रभावकारी बनाउनेगरी संरचना सुधार, अधिकारमा स्पष्टता र कानून सुधार गरेर जान सक्ने बारेमा समेत गृहकार्य गरिरहेको महासचिव पोखरेलले बताए । यस्तै नयाँ भन्ने बित्तिकै विकल्प हुन नसक्ने भन्दै पोखरेलले राजनीति घाम छाँया नरहेको स्पष्ट पारे ।

सरकारमा सहभागी दुई प्रमुख पार्टी कांग्रेस र एमालेलाई असफल हुने छुट नरहेको दाबी गर्दै महासचिव पोखरेलले निरासा चिर्दै समृद्ध मुलुकको संकल्प पुरा गर्ने दिशामा सरकार लागिपरेको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीे नेतृत्वमा रहेको वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको दाबी गर्दै महासचिव पोखरेलले भने, ‘विगतमा धेरै सुधार भएको छ । राजश्व संकलन बढेको छ । विगतमा भन्दा १७ प्रतिशतले राजश्व संकलन बढेको हो । पुँजीगत खर्च बढेको छ । दुई महिनाभित्र सबै भुक्तानीको दायित्व तिर्नुपर्ने बाटोमा सरकार जाँदै छ । मौद्रिक तरलतालाई व्यवस्थित गर्नुपर्ने छ ।’

सरकारले लगानीको वातावरण निर्माण गर्नेगरी भूमिका बढाएको बताए । ‘अस्थिरताको हौवाबाट तर्सिनुपर्ने अवस्था छैन । सरकारमा रहेका दुई दल चुनौतीको सामना गर्नेगरी गतिलो गृहकार्य गरेर अघि बढेका छन्,’ महासचिव पोखरेलले भने, ‘संकट समाधान गर्न सरकार संवेदनशील छ ।’

यस्तै महासचिव पोख्रेलले संस्थागत पत्रकारीता कमजोर हुँदा सामाजिक सञ्जाललाई पत्रकारीता मान्ने जमात बढ्न थालेको प्रति चिन्ता व्यक्त गरेका छन् । ‘संस्थागत पत्रकारीता कमजोर हुँदा अराजकता र स्वच्छन्दावाद हावी भयो,’ उनले भने, ‘तथ्यहिन, भ्रामक र नियोजित चिज बढी खोजिन थाल्यो । संस्थागत पत्रकारीतालाई बलियो बनाउनेगरी नयाँ बहस सुरु गर्नुपर्छ । सोसल मिडिया चलाउँदा बित्तिकै पत्रकार भन्ने गलत अभ्यास चलेको छ । यो राम्रो होइन ।’

दाङको विकास निर्माणले गति लिएको भन्दै महासचिव पोखरेलले भने, ‘नेपालको आफ्नै स्रोतबाट फोरलेन सडक विस्तारको काम सुनिश्चित भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सबै हिसाबले उत्कृष्ट बनाउन भूमिका बढेको छ । चारसय बेडको नयाँ अस्पताल बनाउने योजना अघि बढेको छ । तुलसीपुरमा टरिगाउँ एयरपोर्टलाई विस्तार गर्ने काम अघि बढेको छ । लमही–घोराही सडक निर्माणका लागि ठेक्का लागेको छ ।’

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले पत्रकारिता क्षेत्रमा उत्पन्न विकृति विसङ्गतिलाई न्यूनीकरण गर्दै मर्यादित पत्रकारिताका लागि महासंघ लागिपर्ने बताए । सदस्यता शुद्धिकरणका नाममा महासंघको संस्थागत संरचना कमजोर भएको भन्दै सचिव प्रियासनले सबै समस्या समाधान गर्नका लागि महासंघ नेतृत्वले सफलता प्राप्त गर्ने दाबी गरे ।

Health Tips Ad Road Block