काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । व्यवसायिक क्रियाकलापहरु सञ्चालन गर्दा कम्पनीले सदैव सामाजिक उत्तरदायित्व प्रतिको प्रतिवद्धता व्यक्त गर्दै आएको विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । कम्पनीले विगतका आर्थिक वर्षहरुदेखि नै सामाजिक उत्तरदायित्वका पुराना कार्यक्रमहरुलाई निरन्तरता दिनुका साथै थप नयाँ कार्यहरु समेत गर्दै आएको जनाएको छ ।
टेलिकमले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु यस्ता छन्
हरियाली संरक्षण तथा वृक्षारोपण
टेलिकमले काठमाडौंको माइतीघरदेखि तिनकुने सम्मको सडक खण्डमा हरियाली संरक्षण तथा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत मौसमी फूलका बिरुवाहरु रोप्ने, रुखहरु तथा दुबो रोप्ने, गोडमेल गर्ने र काँटछाँट गर्ने लगायतका सुन्दरता अभिवृद्धि गर्ने क्रियाकलापहरु सञ्चालन गरिरहेको जनाएको छ ।
विद्यालयमा विभिन्न भौतिक तथा शैक्षिक सामग्री वितरण
टेलिकमले निरन्तररुपमा नेपाल भरिका सरकारी तथा सामुदायिक विद्यालयहरुमा फर्निचर, कम्प्युटर, झोला, ट्रयाकसुट लगायतका विभिन्न भौतिक तथा शैक्षिक सामग्रीहरु उपलब्ध गराउँदै आएको जनाएको छ । साथै देशभरका २० जिल्लाका १–१ सरकारी र सामुदायिक विद्यालयमा महिला स्वास्थ्यमा सहयोग पुग्ने गरी महिला स्वास्थ्य सामग्री सेनेटरी प्याड भेण्डिङ मेसिन(सेनेटरी प्याडसहित) उपलब्ध गराएको जनाएको छ ।
वातावरण सरसफाई
धार्मिक मठ मन्दिर, पुरातात्विक एवम् पर्यटकीय स्थल, बसपार्क, सार्वजनिक पार्क तथा बगैंचा लगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरुमा आवश्यकता बमोजिम डस्टवीन वितरण गर्ने काम टेलिकमले गर्दै आएको छ ।
वृद्धाश्रम, बाल आश्रम लगायतका संरक्षणस्थलमा सहयोग
टेलिकमले सातवटै प्रदेशका वृद्धाश्रम, बाल आश्रम, फरक क्षमता भएका व्यक्तिहरुलाई संरक्षण गर्ने संस्था तथा सामुदायिक केन्द्रहरुमा भोजन एवम् न्यानो कपडा र ब्ल्याङ्केट सहयोग गर्दै आएको जनाएको छ ।
अस्पतालमा बेड कम चेयर वितरण
टेलिकमले नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पताल लगायत अन्य सरकारी तथा सामुदायिक अस्पतालमा आउने बिरामीका कुरुवाहरुलाई आराम गर्न सहज होस् भन्ने उदेश्यले बेड कम चेयर उपलब्ध गराउँदै आएको जनाएको छ ।
विद्यालयमा इन्टरनेट सेवा
टेलिकमले विद्यालयहरुमा पटनपाठन कार्य सहज होस् र विद्यार्थीले इन्टरनेटको सहज प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले एफटिटिएच् सेवा पुगेका देशभरका विभिन्न १०० ओटा सरकारी तथा सामुदायिक विद्यालयहरुमा ५० एमबिपिएस् गतिको एफटिटिएच् इन्टरनेट १ वर्ष सम्मका लागि निःशूल्क उपलब्ध गराइएको जनाएको छ । त्यसैगरी एफटिटिएच् सेवा नपुगेका ७ वटै प्रदेशका विभिन्न ५० ओटा सरकारी तथा सामुदायिक विद्यालयहरुमा १ वर्ष सम्मका लागि नमस्ते वाईफाई(डब्लु बीबी) राउटर सहितको फेरजी इन्टरनेट प्याकेज निःशूल्क उपलब्ध गराएको छ ।
‘एस्इइ’ तयारी गरिरहेका विद्यार्थीलाई सहयोग
टेलिकमले आउँदै गरेको ‘एस्इइ’ परीक्षा तयारी गरिरहेका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट निःशूल्क रुपमा पढ्न पाउने व्यवस्था मिलाएको जनाएको छ ।
यसका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत फरक क्षमता भएका व्यक्तिहरुलाई छुट्टै प्याकेज सहितको निस्शूल्क प्रिपेड सिमकार्ड वितरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,नेपाल दूरसञ्चार प्राधिकरण लगायतका संस्थाहरुको सिफारिसमा विभिन्न पर्व, अवसर तथा विपत्तिको समयमा निःशूल्क कलर रिङ्गटोनको प्रसारण कार्य, गणतन्त्र दिवस, संविधान दिवस लगायतका पर्व,अभियान, सम्मेलन तथा प्राकृतिक विपद्का समयमा सूचना तथा अन्य जानकारी मूलक सन्देशहरु निःशूल्क बल्क एस्एमएस् मार्फत प्रवाह गर्दै आएको जनाएको छ ।
त्यस्तै गत वर्षको जाजरकोट भूकम्पबाट प्रभावित नागरिकका लागि ब्ल्याङ्केट, टेन्ट लगायतका राहत सामग्री उपलब्ध गराएको, गत असोजको पहिरो तथा डुबान पीडितहरुलाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको टेलिकमका प्रवक्ता हरि ढकालले जनाएका छन् ।






















