काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू गरेको छ ।
अस्पतालले सोमबारदेखि सुरू गरेको ‘परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र’को सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र चिनियाँ राजदूत छेन सोङलगायतले संयुक्तरूपमा उद्घाटन गरे । उद्घाटनपछि आयोजित सभामा मन्त्री गुप्ताले परम्परागत चिनियाँ चिकित्सा पद्धतिले आधुनिक उपचार प्रणालीलाई समृद्ध बनाएको बताए । ‘मानव शरीर, प्रकृति र ऊर्जा (क्यूआई) को सन्तुलनमा यो विधि आधारित छ । एक्युपञ्चर, हर्बल मेडिसिन, मसाज (तुइना) र खानपानसम्बन्धी परामर्शलगायत विधिहरूले उपचार प्रणालीलाई नै समृद्ध बनाउँदै लगेको छ,’ मन्त्री गुप्ताले भने, ‘त्यस्तो विधि नेपालमा पनि सुरू गरिएको छ । यसले यहाँको उपचार प्रणालीलाई पनि समृद्ध बनाउने विश्वास लिएको छु ।’
परम्परागत चिनियाँ चिकित्सा हजारौँ वर्ष पुरानो विधि भएको चर्चा गर्नुहुँदै उनले सिभिल अस्पतालमा सकेसम्म धेरै विधिहरूको प्रयोग गरी विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए । विश्वभर स्वास्थ्य सेवामा नवीन प्रविधि र परम्परागत ज्ञानको संयोजन बढिरहेको र त्यसले स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने विश्वास उनले व्यक्त गरे ।
अस्पताललाई अझै विस्तारित र प्रभावकारी बनाउन भविष्यमा समेत चिनियाँ सहयोग आवश्यक रहेको चर्चा गर्दै उनले निरन्तर सहयोगको अपेक्षा गरेको बताए । ‘यस अस्पतालमा सेवा प्रवाहका निम्ति आउनुभएका चिनियाँ विशेषज्ञहरूलाई धन्यवाद दिन चाहन्छु,’ मन्त्री गुप्ताले थपे, ‘इतिहासदेखि नै कायम नेपाल–चीन मित्रताको सम्बन्धलाई थप विस्तारित गर्न यस युनिटले महत्वपूर्ण योगलान दिने विश्वास लिएको छु ।’ सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा नेपालमा लागि चिनियाँ राजदूत छेन सोङले सिभिल अस्पताललाई विश्वस्तरीय सेवाहरूका साथ नेपालकै नमूना अस्पताल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल सरकारले २०६४ सालमा गठन आदेशमार्फत कानुनी आधार तयार गरेपछि चीन सरकारको मुख्य सहयोगमा सिभिल अस्पताल स्थापना गरिएको थियो । स्थापनापछि पनि चीन सरकारले निरन्तर सहयोग सहयोग गर्दै आइरहेको छ ।




















