skip this News Page Tips Ad Road Block

पर्यटन ऐनको परिमार्जनसहितका माग राख्दै पर्वतारोहण सञ्चालक संघले गरायो सरकारको ध्यानाकर्षण

पर्वतारोही एवम् कीर्तिमानी आरोहीलाई पुरस्कारसहित सम्मान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको साहसिक तथा पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन पर्वतारोहण संचालक संघ नेपालले पर्यटन ऐन, नियम, नियमावलीको समय सापेक्ष परिमार्जन गर्नुपर्ने माग गरेको छ । संघको सोह्रो वार्षिक साधारण सभा एवं सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रममार्फत संघले सरकारको ध्यानाकर्षण गराएको हो ।

संघका अध्यक्ष डम्बर पराजुलीले पर्वतारोहणलगायत पर्यटन क्षेत्रका विभिन्न मागसहित सरकारको ध्यानाकर्षण गराएका हुन् । पराजुलीले पर्यटन क्षेत्रका सुधार र योगदानका विषयमा  बुँदागतरुपमा सरकारको ध्यानाकर्षण गराए ।

– व्यवसायीले धेरै समयदेखि उठाईरहेको पर्यटन ऐन, नियम समय सापेक्ष परिमार्जन गर्नुपर्ने मागलाई पर्यटन मन्त्रालयले पनि महसुस गरेको र त्यसलाई पूर्णता दिन माग गरिएको छ । सोहीक्रममा पर्वतारोहण संचालक संघ नेपालले ऐन, नियमको परिमार्जन सहितको मस्यौदा दुई–दुई पटक मन्त्रालयमा प्रस्तुत गरिसकेको जानकारी दिँदै सबै सरोकारवालासँग छलफल गरी पूर्णता दिन भनिएको छ ।

–त्यसैगरी पर्वतारोहण नियमावली पनि गत बर्षदेखि नै परिमार्जनको क्रममा रहेको र उक्त नियमावलीलाई सरोकारवाला संघ संस्थासँंगको समझदारी अनुसार पूर्णता प्रदान गरी अविलम्ब लागु गराउन संघले माग गरेको छ ।

–सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडानलाई निरन्तरता दिएर पर्यटन क्षेत्रलाई सहयोग पुर्याउने कामलाई निरन्तरता दिनुपर्ने संघको भनाइ रहेको छ ।

–पर्यटन ब्यवसायीले दशकौंदेखि माग गरेको पर्यटन ब्यवसायलाई उद्योगको मान्यता वहारिकरुपमा प्रदान गर्न पनि संघले सरकारसमक्ष अनुरोध गरेको छ ।

–पर्वतारोहण जस्तो संवेदनशिल पेशा, व्यवसायलाई अन्य पेशा व्यवसायसँग दाँज्दै आईसफलको बाटो बनाउने र सगरमाथा÷ल्होत्से हिम शिखर आरोहणका लागि क्याम्प २ देखि शिखरसम्म र मनास्लु तथा अमाडब्लम एवं  हिमलुङ्ग हिमालमा डोरी टाग्ने कार्यलाई ठेक्का पट्टामा दिन वा दिनुपर्ने लगायतका भ्रामक समाचार सम्प्रेषण भईरहेकोप्रति संघले दुःख व्यक्त गर्दै यस सम्बन्धमा आवश्यक गृहकार्य गरी नितीगत निर्णयका लागि सरकारसमक्ष अनुरोध गरेको छ ।

–२०७० सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन उद्योग महाशाखाका प्रमुखको संयोजकत्वमा गठित पाँच सदस्यीय आरोहण सुधार सुझाव समितिले दिएका विभिन्न सुझावलाई केही परिमार्जनसहित कार्यान्वयन गर्ने हो भने पर्वतारोहण संचालनका क्रममा देखिएका समस्याहरुः फोहरमैला व्यवस्थापन, आधार शिविर, सम्पर्क अधिकृत, नेपाली आरोहीका साथै आरोहणमा संलग्न सहयोगी कामदारहरुका समस्याको समाधान हुने संघको दाबी रहेको छ ।

–वसन्त ऋतुबाट आधार शिविरमा फिल्ड अफिस स्थापना गरी आरोहण अभियानलाई सहजीकरण एवं अनुगमन गर्ने कार्यलाई निरन्तरता दिन र भौतिक पूर्वाधारको व्यवस्था गर्न पनि संघले सरकारसमक्ष आग्रह गरेको छ ।

–फोहरमैला धरौटी खारेज गरी फोहरमैलाको ब्यवस्थापनका लागि हिमालहरुको वर्गीकरण गरी ती हिमालहरुमा आरोहण गर्ने आरोहीहरुबाट प्रति आरोही रकम उठाउने र फोहरमैला ब्यवस्थापन कोष खडा गरी उक्त रकम सो कोषमा दाखिला गर्ने व्यवस्थाको लागि संघले माग गरेको छ । सो कोषमा जम्मा भएको रकमबाट प्रत्येक वर्ष हिमालहरु पालो पालो सरसफाई अभियान संचालन गर्ने ब्यवस्थालाई कार्यान्वयन गर्न आवश्यक कानुनी ब्यवस्था मिलाउन विगत धेरै बर्ष देखि नै संघले सुझाव दिइरहेको स्मरण गराएको छ ।

–एयरलाईन्स टिकटमा नेपाल सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)लाई हटाउन विभिन्न संघसस्थामार्फत पहल भईरहेता पनि उक्त भ्याट नहटाईएको र सोही विषयमा ७१ औं सगरमाथा दिवसका दिन स्वयम् पर्यटन मन्त्री र प्रधानमन्त्रीले भ्याट हटाउने व्यवसायीका मागलाई सम्बोधन गर्ने अभिव्यक्ति दिएकोप्रति स्मरण गराउँदै यसलाई हटाउन संघले माग गरेको छ ।

–वसन्त ऋतु शुरु हुनुभन्दा अगाडि र वसन्त ऋतुको अत्यमा संम्पूर्ण पर्वतारोहण संचालक ट्रेकिङ्ग एजेन्सीहरु, विदेशी टुर अपरेटर/टीम लिडरहरुको उपस्थितिमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा हरेक वर्ष कार्यशाला गोष्ठी संचालन गर्ने र  त्यसको निरन्तरता आउँदो वसन्त ऋतुमा पनि रहने संघले जनाएको छ ।

–संघको सक्रिय एवं चुस्त समन्वयका कारण पर्वतारोहण गतिबिधिहरु संचालन बापत राज्यकोषमा प्रत्यक्षरुपमा सन् २०२४ को वसन्त र शरद ऋतुमा ८० करोड रुपैयाँभन्दा बढी राजश्व संकलन भएको दाबी गरिएको छ । यसका साथै पर्वतारोहण संचालकहरुले पर्वतारोहण संचालन गर्दा उपभोग गरेको हवाई तथा स्थल यातायात, होटल, रेष्टुरेण्ट, आरोहण मार्गमा खान बस्नको लागि गरिएको खर्च, कम्पनीको आय ब्यय वापतको राजश्व, मूल्य अभिवृद्धि कर लगायत अन्य प्रत्यक्ष अप्रत्यक्ष खर्चहरु र उक्त खर्चबापत बजार चलायमान गर्न पु¥याएको योगदानलाई पनि स्मरण गराएको छ ।

–कोेभिडपश्चात् पर्यटन ब्यवसाय आफ्नो लयमा फर्कने क्रममा बिदेशी मुुद्राको संचितीको बढ्दो अंङ्कलाई संघले सन्तोषजनक मानेको छ ।

साधारण सभाका क्रममा कीर्तिमानी आरोहीहरुलाई सम्मान प्रदान गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेयले पर्यटन व्यवसायी र यस क्षेत्रको मागलाई मनन गरेको बताउँदै व्यवसायी र सरोकारवालासँग हातेमालो गरेर
अगाडि बढ्न सरकार तयार रहेको बताएका छन् ।

संघले हरेक वर्ष शरद ऋतु पश्चात मनास्लु, हिम्लुंग र आमादब्लम  हिमालमा  पर्वतारोहण अभियानमा डोरी टाँग्ने कार्यमा संलग्न पर्वतारोही र कीर्तिमानी आरोहीरुलाई लाई नगदसहित सम्मान गर्ने गरेको छ । यसैक्रममा डोरी टाँग्ने कार्यमा संलग्न १६ जना पर्वतारोही, विश्व रेकर्ड राख्ने ५ जना कीर्तिमानी आरोहीसहित विभिन्न संघसंस्थाहरु संघबाट सम्मानित भएका छन् ।

संघ र इजाजतको व्यवस्था

पर्वतारोहण संचालक संघ नेपाल २०६५ सालमा स्थापना भएपश्चात हालसम्म विभिन्न बाधा अड्चन, अवरोध छिचोल्दै साहसिक एवं पर्वतीय पर्यटनको एक विशिष्ट बिधा ‘पर्वतारोहण’ संचालक टे«किङ्ग व्यवसायीहरुको एक मात्र छाता संगठनको रुपमा स्थापित भइ कार्यरत रहेको छ । संस्थाले पर्वतारोहण संचालक व्यवसायीहरुबीच आपसी भाईचारासहित व्यवसायलाई भरपर्दो, सुरक्षित एवं मर्यादित रुपमा हातेमालो गरी पेशा व्यवसाय संचालन गर्नुका साथै नेपाल सरकारलाई यस बिधाको विज्ञको रुपमा आवश्यक सहयोग गर्दै आइरहेको छ । पर्यटन विभागले विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमाल आरोहणलाई भरपर्दो र सुरक्षित गर्न लागि क्याम्प २ देखि माथि दुवै हिमालको शिखरसम्म र
मनास्लु, अमाडम्बल एवं हिमलुङ्ग हिमालको शरद ऋतुमा आरोहण समयमा डोरी टाँग्ने तथा बाटो खोल्ने कार्यको लागि प्रदान गरिएको जिम्मेवारीलाई  कुशलता एवं सफतापूर्वक गरिरहेको पनि जनाएको छ ।

संघले यस व्यवसायसँग सम्बन्धित कार्यको व्यवस्थापन गर्दै सरकारबाट प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरिरहेको स्पष्ट पारेको छ । यसै परिप्रेक्षमा उक्त डोरी टाँग्ने कार्यको लागि आउने सन् २०२५/०२६ को वसन्त ऋतु तथा शरद ऋतुमा डोरी लगायतका आवश्यक सामानहरु ल्याउन यथेष्ठ समय आवश्यक रहने हुनाले उक्त कार्य सम्पन्न गर्न संघले सरकारसमक्ष पर्वतारोहण संचालक संघ नेपाललाई सहमति एवं ईजाजत प्रदान गर्न अनुरोधसमेत गरेको छ ।

संघले सामाजिक उत्तरदायित्व अन्तर्गत साउन महिनामा थामेमा गएको हिउँँ पहिरोमा रेका स्थानीयहरुलाई स्थानीय क्लबसँगको सहकार्यमा ३ लाख ५० हजार आर्थिक सहयोग गरेको जनाएको छ ।

Health Tips Ad Road Block