काठमाडौं। २० वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सम्मिलित छाता संस्था बैंकर्स संघमा नयाँ नेतृत्वका लागि चुनावी भिडन्त हुने देखिएको छ । आगामी कार्यकालका लागि अध्यक्षमा प्रभु बैंकका सीइओ अशोक शेरचन र माछापुच्छ्रे बैंकका सीइओ एवं संघका वर्तमान उपाध्यक्ष सन्तोष कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् ।
लामो समयदेखि उपाध्यक्षलाई अध्यक्ष बनाउने पराम्परा दुई पक्षीय उम्मेदवारीले तोडिने भएको छ । पूर्व अध्यक्षहरु भने सहमतिमै जानुपर्ने पक्षमा देखिएका छन् । संघको पुस ३ गते ३८ औँ साधारण सभा हुँदैछ र साधारण सभाले नयाँ नेतृत्व छान्नेछ ।
यसअघि १३ वर्ष अगाडि शशिन जोशीले दोहोरिन खोज्दा अशोक राणासँग हार बेहोरेको भएपनि त्यसपछि सहमतिमै उपाध्यक्षलाई अध्यक्ष बनाउँदै आइएको थियो । यो बीचमा राजनसिंह भण्डारी, उपेन्द्र पौडेल, अनिलकेशरी शाह, ज्ञानेन्द्र ढुंगाना, भुवन दहाल, अनिल उपाध्याय र सुनिल केसी अध्यक्ष बनिसकेका छन् ।






















