Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नर्सिङ संघको चुनावमा कांग्रेस–एकीकृत समाजवादीनिकट संयुक्त नर्सिङ पेसागत समूहको २५ बुँदे एजेण्डा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आगामी मंसिर २८ गते हुने नेपाल नर्सिङ संघ (नान) २० औं अधिवेशनका लागि निर्वाचनमा यतिबेला चार प्रमुख राजनीतिक दलका दुई अलग–अलग प्यानल बनेका छन् । संघको निर्वाचनमा नेपाली कांग्रेस र एकीकृत समाजवादी निकटहरू संयुक्त पेसागत प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् । उता नेकपा एमाले र नेकपा माओवादी निकट नर्सहरूले संयुक्त प्रगतिशील प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।

एमाले–माओवादी गठबन्धनबाट एमालेकी चन्द्रकला शर्मा र कांग्रेस–एकीकृत समाजवादीबाट एकीकृत समाजवादीकी गंगाकुमारी थापा अध्यक्षका उम्मेदवार छन् ।

यसैबीच कांग्रेस र एकीकृत समाजवादीनिकट संयुक्त नर्सिङ पेसागत समूहले यस चुनावका लागि २५ बुँदे एजेण्डा अघि सारेको छ । मंगलबार राजधानीमा संयुक्त समूहले २५ बुँदे एजेण्डा अघि सारेको हो ।
कार्यक्रममा संयुक्त नर्सिङ पेसागत समूह अध्यक्ष पदकी उम्मेदवार गंगा थापाले नर्सिङ क्षेत्रको समस्यालाई हल गर्न आफूले उम्मेदवारी दिएको बताईन् । उनले आफ्नो समूहले संघको प्यानल बनाएरै उम्मेदवारी दर्ता गरेको बताएकी छन् ।

कार्यक्रममा अध्यक्षकी प्रत्यासी थापाले संघले नर्सिङ पेशाकर्मीलाई मर्यादित बनाउन विभिन्न समयमा नर्सिङका समस्यालाई राज्य समक्ष पेश गर्ने कार्य गरिहेको बताईन् । २०४६ सालको राजनैतिक र सामाजिक आन्दोलनमा पनि नर्सहरुको समस्यालाई ध्यानाकर्षण गर्दै सडकमा उत्रिएको इतिहास थापाले स्मरण गराइन् ।

देशमा अन्य परिवर्तन भएपनि नर्सिङ पेशाकर्मीहरुको अवस्थामा परिवर्तन हुन नसकेको उनले बताइन् । सरकारी अस्पतालमा बिरामीको अनुपातमा दरबन्दी कम हुनु, औषधि र स्वास्थ्य उपकरणहरु पर्याप्त व्यवस्था नहुनुले गुणस्तरीय नर्सिङ सेवा प्रदान गर्न नसकेको उनको भनाइ छ । यी सबै समस्याहरुलाई समाधान गर्न राज्य उदासिन बनेको उनले आरोप लगाइन् । चिकित्सा शिक्षा ऐनमा व्यवस्था गरिए अनुसार नर्सिङ शिक्षक कर्मचारीहरुलाई उचित व्यवस्थापन गर्नुपर्ने अनिवार्य भएको तर त्यस्तो हुन नसकेको उनले बताइन् ।

अध्यक्षकी प्रत्यासी थापाले विगतमा संघको नेतृत्वले सबै नर्सिङ क्षेत्रलाई समेट्न नसकेको दाबी गरेकी छन् । ‘त्यसैले संयुक्त नर्सिङ पेशागत समूह यहाँहरु समक्ष खडा भएका छौं । यो विभिन्न क्षेत्र समुदाय, जनजातिहरुको समावेशी विशुद्ध पेसागत नर्सिङ समूह हो । तसर्थ पेशालाई मर्यादित बनाउन एक सशक्त परिवर्तनकारी युवाशक्तिको महसुस गरिएकोले २० औं नेपाल नर्सिङ संघको चुनावमा नर्सिङ पेसागत समूहको संयुक्त प्यानललाई अमूल्य मत दिई अत्याधिक मतले विजय गराइदिनु हुन सम्पूर्ण नर्सिङ पेसाकर्मीहरुमा हार्दिक अपिल गर्दछौं’, उनले भनिन् ।

संयुक्त नर्सिङ पेसागत समूहले २५ बुँदे एजेण्डा अघि सारेको छ । स्वास्थ्य ऐनमा नर्सिङ सेवासँग सम्बन्धित विभेदपूर्ण संशोधन गर्न पहल गर्ने, प्रसुती बिदा कम्तीमा पनि ६ महिना कायम गर्ने, बिरामीको अनुपातमा नर्सिङ दरबन्दी कायम गर्ने, नर्सिङ पेसाकर्मीहरूको सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, औषधि, उपचार लगायतका सेवा सुविधा व्यवस्थापन समूहका मुख्य मुद्दा छन् ।

यस्तै संघको कामलाई प्रविधिमैत्री बनाई डिजिटल बनाउने, संघ र स्वास्थ्य मन्त्रालयबीच २०६६ सालमा भएको २१ बुँदे सम्झौतालाई कार्यान्वयन गर्न पहल गर्ने, स्नातक तहका सबै स्वास्थ्यकर्मीहरूको समान तहमा सेवा प्रवेश गर्न स्वास्थ्य सेवा ऐन तत्काल संशोधनका लागि माग गर्ने लगायतका एजेन्डा संयुक्त समूहले उठाएको छ ।

कार्यक्रममा महासचिवकी उम्मेदवार मीना कार्कीले १ लाखभन्दा धेरै नर्सहरु रहँदा पनि नानमा १५ हजार मात्र सदस्य हुनु सन्तोषजनक नरहेको बताइन् । उनले नर्सहरुको न्यून पारिश्रमिक र राज्यले आवश्यक नीति बनाउन नसक्दा नर्सिङ संघमा आवद्धता कम रहेको बताइन् ।

उनले यो प्यानले सबै जाति,वर्ग र क्षेत्रलाई समेटेको हुँदा यो समूहले जित निकाल्ने विश्वास व्यक्त गरिन् । देशको राजनीति परिवर्तन भएजस्तै नर्सिङ संघको नेतृत्व पनि परिवर्तन हुनुपर्ने पक्षमा आफूहरु रहेको उनले सुनाइन् ।

‘नर्सिङ संघको नेतृत्व परिवर्तन हुनुपर्छ । युवाको हातमा संघको नेतृत्व जानुपर्छ । यसै एजेण्डालाई हाम्रो समूहले स्थापित गर्नेछ । तमाम नर्सहरुका समस्याका बारेमा छलफल हुनुपर्छ । उनीहरुका हकहितको बारेमा वकालत हुनुपर्छ । यो काम हामीले गर्न सक्छौं । हामी गर्छौ’ उनले भनिन् ।

नेपाल नर्सिङ संघ देशको सबभन्दा पुरानो संगठन हो । यो संगठन २०१८ साल माघ १५ गते नेपाली र विदेशी नर्सहरुको पहलमा विधिवतरूपमा दर्ता भएको हो । यो संघले अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिलबाट मान्यता पाएको थियो ।

देशकै पूरानो मध्येको एक संघ नर्सिङ संघमा १५ हजार ५०० मतदाता छन् । संघको नेतृत्वका लागि संयुक्त प्रगतिशील समूह र संयुक्त नर्सिङ पेसागत समूहले आ–आफ्नो एजेण्डाहरु अघि सारेर मतदाता फकाईरहेका छन् ।

 

Health Tips Ad Road Block