काठमाडौं । विशेष अदालतले नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी जहाज खरिद प्रकरणमा अनियमितता भएको भन्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जनालाई दोषी ठहर गरेको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु तेजनारायण सिंह राई एवं रितेन्द्र थापाको इजलासले बिहीबार राति उक्त फैसला सुनाएको हो ।
विशेषको फैसलामा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले सफाइ पाएका छन् भने नेपाल सरकारका दुई पूर्वसचिवहरु दोषी ठहरिएका छन् । नेपाल वायुसेवा निगमको दुईवटा जहाज खरिद प्रकरणमा एक अर्बभन्दा बढी अनियमितता भएको भनेर विशेषमा गत चैतमा परेको मुद्दामा चार जनालाई अभियोगमा दोषी ठहर गरिएको र अन्यले भने सफाई पाएका हुन् ।
नेपाल वायुसेवा निगमका तत्कालिन अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार, सहसचिवहरू बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाई दोषी ठहर गर्दै १ अर्ब ४७ करोड रुपैयाँको भ्रष्टाचार भएको ठहर गरेको छ ।
उक्त रकम सबैबाट दामासाहीमा असुलउपर गर्न विशेषले आदेश दिएको छ ।
अदालतले तत्कालीन महाप्रबन्धक कंसाकारलाई थपसहित दुई वर्ष नौ महिना कैद सजाय, निगम सञ्चालक समितिका तत्कालीन अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीलाई थपसहित एक वर्ष नौ महिना कैद सजाय, पूर्वसचिव एवं निगम सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गानालाई एक वर्ष छ महिना कैद सजाय र नेपाल सरकारका सहसचिव एवं पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव बुद्धिसागर लामिछानेलाई एक वर्ष छ महिना कैद सजायको फैसला गरेको छ ।
कंशाकार जेष्ठ नागरिक भएका कारण कैदमा पचास प्रतिशत छुट हुने फैसलामा उल्लेख छ ।






















